बालेनविरुद्ध समाचार लेखेकालाई ज्यान मार्ने धम्की

बालेनविरुद्ध समाचार लेखेकालाई ज्यान मार्ने धम्की

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध समाचार लेखेको आरोपमा पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले आपत्ति जनाएको छ। बालेनका भिनाजु सुवास साहले शाखाका सदस्य तथा पत्रकार पर्वतराज घिमिरेलाई फोनमार्फत अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका हुन्। 

महासंघले यस घटनालाई प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमणको रूपमा लिएको जनाएको छ। शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मेयर बालेन्द्र साहसम्बन्धी समाचार प्रशारण भएपछि मेयरका भिनाजु बताइने सुवास साहले पत्रकार घिमिरेलाई फोनमार्फत अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका हुन्। घटना सार्वजनिक भएसँगै शाखाले यसलाई प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमणको रूपमा लिएको छ।’

समाचारप्रति असन्तुष्ट भएमा प्रेस काउन्सिलमा उजुरी दिने कानुनी व्यवस्थाका बाबजुद पत्रकारलाई धम्की दिनु कानुनको ठाडो उल्लंघन भएको शाखाको ठहर छ। शाखाले दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।

टिप्पणीहरू