आक्रोशित हुँदै ओलीले भने : गृहमन्त्री बाबु धेरै नचम्किनू
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् ।
पार्टीको भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार असंवैधानिक ढंगले बनेको जिकिर गरे । वर्तमान सरकार कसैले नछानेको हुनाले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क थियो ।
‘यो सरकार नेपालीको प्रतिनिधि होइन, अन्त कतैको भए थाहा छैन । कसैले छानेको सरकार होइन यो । उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ’ , उनले भने ।
सरकारले आफूलाई काठमाडौं उपत्यका छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै ओलीले आपत्ति प्रकट गरे । गृहमन्त्री ओमप्रकाश अर्याललाई सम्हालिएर अघि बढ्न पनि उनले सचेत गराएका छन् ।
‘मेरो पासपोर्ट रोक्का गर्ने ? अर्को तमासा के गर्नु भयो भने काठमाडौं भ्याली, यो डाँडो काटेर बाहिर जान नपाउने । केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्लापटी हेर्न पाईने किन नपाइने । त्यो पनि थाहा छैन । पानीढलको सीमाना वा । यो तमासा नभए, सडक तमासा नभए के हो यो ?’, ओलीले भने, ‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? के सोच्या छ ? अहिलेको गृहमन्त्रीको त मैले नाम पनि सुनेको थिइन । गृहमन्त्री बाबुलाई धेरै नउत्यालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।’
सरकार संवैधानिक बाटोबाट नबनेको उनले दोहोर्याए ।
टिप्पणीहरू