अबदेखि ओली, देउवा र प्रचण्डलाई सीमित सुरक्षाकर्मी
सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका अति विशिष्टहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको संख्यामा कटौती गर्ने भएको छ । आज दिउँसो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा त्यसबारे छलफल भएको र सोही बमोजिम सरकारले निर्णय गर्ने बताइएको छ ।
हाल पूर्व प्रधानमन्त्रीको हैसियतमा देउवा, ओली र प्रचण्डलाई तीन दर्जनभन्दा बढी सुरक्षाकर्मीको सुविधा दिइएको छ । तर अब विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिले तोकेको संख्याभन्दा बढी सुरक्षाकर्मी खटाउन नहुने सुरक्षा समितिको निर्णय छ ।
ओलीको सुरक्षार्थ ४६ जना सुरक्षाकर्मी खटिँदै आएकोमा अब २८ जनालाई फिर्ता बोलाइने भएको छ । त्यस्तै, प्रचण्डको सुरक्षार्थ ५२ जना खटिँदै आएकोमा ३४ जना फिर्ता र देउवाको सुरक्षार्थ खटिएका दुई दर्जन सुरक्षाकर्मी पनि फिर्ता हुँदै छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार देउवा, ओली, प्रचण्डसहित अन्य दर्जनौ भिआईपीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि फिर्ता बोलाइने छ । ‘तीन जनाको मात्रै होइन, बहालवाला र अन्य पूर्व प्रमुखहरुको सुरक्षा पनि कटौती गरिएको छ’, प्रवक्ता काफ्लेले जनआस्थासँग भने, ‘कहाँबाट कति सुरक्षाकर्मी फिर्ता हुँदैछन् भन्नेबारे भोलिसम्मा विस्तृत तथ्यांक तयार हुन्छ ।’
टिप्पणीहरू