ध्वस्त पर्यटन उकास्न विदेशमा निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र अन्य कूटनीतिक नियोगका प्रमुखलाई नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गर्नुभएको छ । उहाँले अस्ति साँझ गर्नुभएको जुम मिटिङमा विशेषगरी नेपाल सुरक्षित रहेकाले पर्यटनका लागि विदेशमा सन्देश सञ्चार गर्नुपर्ने धारणा राख्नुभएको बताइन्छ ।
जेन जी आन्दोलनको नाममा भदौ २४ गते गरिएको विध्वंशले पर्यटकका लागि नेपाल असुरक्षित गन्तव्यको रुपमा दर्ज भएको छ । हिल्टन, हायातलगायत अन्तर्राष्ट्रिय पाँचतारे होटलमा गरिएको आगजनी र लुटपाट, पर्यटकहरुमाथि भएको दुर्व्यहारका भिडियो र फोटो विश्वव्यापी भइसकेकाले नेपालको पर्यटन क्षेत्र थप समस्यामा पर्ने निश्चित देखिएको छ । विशेषगरी भदौ मध्यदेखि पुस मध्यसम्म र माघ मध्यदेखि जेठसम्म नेपालमा पर्यटन सिजन मानिन्छ ।
जेन जीको आह्वानमा भएको प्रदर्शन, भोलिपल्टको भयावह आगजनी र जेन जी समूहको सिफारिसमा प्रधानमन्त्री बनेपछि पर्यटन क्षेत्रमा भएको क्षति र यसले पार्ने दूरगामी प्रभावबारे कार्की जानकार रहेको उक्त आग्रहबाट पुष्टि हुन्छ । जुम बैठकमा सहभागी एकजना राजदूतले भने, ‘विशेषगरी विदेशीलाई नेपाल घुम्न जानुस, सुरक्षित छ भनेर आह्वान गर्नुपर्ने बताउनुभएको छ । त्यसैगरी चुनावको तयारीका लागि सम्बन्धित मुलुकका सरकारलाई जानकारी गराउनुपर्ने छ ।’
प्रधानमन्त्री विदेशी राजदूतहरुलाई सम्बन्धित मुलुकको सरकारलाई नेपालमा नयाँ पुस्ताको आन्दोलनको म्याण्डेट अनुसार सरकार अघि बढिरहेको सन्देश दिन निर्देशन दिनुभएको छ ।
टिप्पणीहरू