अहिले पनि ठूला दलभित्रकाे प्रवृत्ति उस्तै
जेन जी प्रदर्शन र विध्वंशपछि राजनीतिक दलहरुमाथि पुनर्गठनको चर्को दबाब बढेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको पृष्ठभूमिमा त्यसअघि नै पुनर्गठन गनुपर्ने बाध्यता दलहरुमाथि परेको छ । यद्यपि, सबै राजनीतिक दल त्यसअघि नै पुनर्गठन हुने कुनै आधार वा संकेत अझै देखिएको छैन ।
नेकपा (माओवादी केन्द्र)ले पुनर्गठनको उद्धेश्यसहित आगामी मंसिरमा विशेष महाधिवेशन गर्न केन्द्रीय कमिटी भंग गरिसकेको अवस्था छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भने तत्काल नेतृत्व नछाड्ने संकेत दिएका छन् ।
उता नेपाली कांग्रेसमा पुनर्गठन होला वा नहोला भन्ने सकिने अवस्था छैन । विशेषगरी दुई उपसभापतिको आन्तरिक द्वन्द्वका कारण पार्टी पुनर्गठनको बहस नै अन्यौलमा परेको बताइन्छ ।
सभापति शेरबहादुर देउवा पार्टीको नियमित महाधिवेशन (पुस)सम्म उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोक्ने मनस्थितिमा रहेको उनी निकट नेताहरुको भनाइ छ । हिजो सानेपास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकमा खड्काको अध्यक्षताले पनि देउवाको आशय र चाहनालाई केही हदसम्म अभिव्यक्त गरेको कतिपयको बुझाई छ ।
देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेमा पार्टीको नियमित महाधिवेशनसम्म उनैले नेतृत्व गर्नेछन् । त्यसका लागि खड्काले पनि केही दिनयता आफू अनुकूलको वातावरण बनाउन नेताहरुसँग भेटघाट र आन्तरिक गृहकार्य गरिरहेको बताइन्छ ।
अर्का उपसभापति धनराज गुरुङ भने खड्काको गतिविधिसँग सन्तुष्ट देखिँदैनन् । उनले कार्यवाहक भन्दा पनि पार्टीको विशेष महाधिवेशनबाट मात्र नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन् । मंसिरमा सकेसम्म पार्टी नियमित महाधिवेशन नै गर्ने, विशेष महाधिवेशन गरेर भए पनि पुनर्गठन गर्नुपर्ने उनको भनाई छ । गुरुङको अभिव्यक्तिलाई कतिपयले भने कार्यवाहक नपाउने अवस्था देखिएपछि उत्पन्न असन्तोषको रुपमा हेरेका छन् ।
पर्सि आइतबार बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी पुर्नगठनको बारेमा औपचारिक निर्णय गर्ने बताइएको छ ।
टिप्पणीहरू