ओली र देउवासँग नदाँज्न प्रचण्डको आग्रह
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तुलना गर्दै ‘तीनै जना एउटै हुन्’ भन्ने भाष्य निर्माण गरिएकोमा चित्त दुखेको बताउनुभएको छ ।
‘सम्पादकसँग संवाद’ कार्यक्रममा बोल्दै प्रचण्डले आफू ओली र देउवाभन्दा स्वभाव, कार्यशैली र दृष्टिकोणमा फरक रहेको उहाँको दाबी छ । ‘अहिले एउटा भाष्य बनाइएको कि तीन नेता एउटै हुन्, त्यसमा चित्त दुखेको छ,’ प्रचण्डको भनाइ छ, ‘सरकारमा रहँदा बिचौलिया र भ्रष्टाचारीहरुको सेटिङ भत्काउने पनि उस्तै, अनि संविधान मिचेर सरकार बनाउने र बिचौलियालाई संरक्षण गर्ने पनि उस्तै, कहाँ हुन्छ त यस्तो?’
एमाले र कांग्रेसलाई समेत आत्मसमीक्षा गर्न आग्रह गर्दै माओवादीले राजनीतिक अवरोधको कारण नै सत्ता स्वार्थ र राजनीतिक बेइमानी भएको निश्कर्ष निकालेको छ । प्रचण्डको भनाई छ, ‘हामी को हौँ भन्ने कुरा तपाईंहरूलाई थाहा नहोला भन्न सकिन्न, तर पनि गम्भीर भएर छुट्याउनुपर्छ। जसले नेतृत्व छाड्न तयार भएर केन्द्रीय समिति नै भंग गरिसक्यो, त्यो पनि उस्तै ? अनि जो भन्छ— नमर्दासम्म नेतृत्व छाड्दिनँ— त्यो पनि उस्तै हो त?”
उक्त कटाक्षपूर्ण अभिव्यक्ति एमाले अध्यक्ष ओलीलक्षित रहेको सहजै बुझ्न सकिन्छ । संसद्को बर्खे अधिवेशनमा बोलेका आफ्नै चेतावनीहरू सम्झिँदै भनिएको छ, ‘मैले त्यतिबेला सरकारलाई खबरदारी गर्दै यस्तो हुन सक्छ भनेर भनेको थिएँ । अहिले ज्योतिषले नै भन्याजस्तो ठ्याक्कै मिल्यो। हामीले खबरदारी गर्दागर्दै देश जटिल मोडमा पुग्यो।’
यतिखेर माओवादी केन्द्रले तीन विषयलाई प्राथमिकतामा राखेको जानकारी दिइएको छ । राष्ट्रिय सहमति जुटाएर फागुन २१ गते नै निर्वाचन सम्पन्न गर्ने, जेन जी आन्दोलनको भावना समेट्नेगरी संविधान संशोधन गर्ने र ‘खरानी भएका’ ऐतिहासिक सम्पदाहरू पुनःस्थापना गरिने छ ।
टिप्पणीहरू