देउवाले छोडेको भोलिपल्ट हस्ताक्षर प्रस्तुत
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको काम गर्दै नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् ।
जेन—जी प्रदर्शनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएकाहरूले आज अपरान्ह पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर हस्ताक्षरसहितको प्रतिवेदन पेश गरेका हुन् । विशेष महाधिवेशनको मागसहित ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको बताइएको छ ।
नियमित महाधिवेशनको प्रक्रिया शुरु नभएपछि आफूहरूले विशेष अधिकार प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाएको संस्थापनइतर खेमाका नेता गुरु घिमिरले जानकारी दिए । महाधिवेशन प्रतिनिधिको विशेषाधिकार र केन्द्रिय कार्य समितिको क्षेत्राधिकारभित्र रहेर यो कदम अघि बढाएको पनि उनले स्पष्ट पारे ।
‘हाम्रो विधानले निर्धारण गरेको सीमाभित्र महाधिवेशनका प्रक्रियाहरू हुने कुरालाई पनि यसले मार्गप्रशस्त गरेको छ’, घिमिरेले भने, ‘नत्र अर्को विकल्पको रुपमा हामीले देखेको महाधिवेशन प्रतिनिधिहरूको विशेषाधिकारको रुपमा रहेको र केन्द्रीय कार्यसमितिको क्षेत्राधिकार र अग्राधिकारको रुपमा रहेको विशेष महाधिवेशन बोलाउन माग गर्ने हाम्रो हकलाई सुरक्षित राख्दै देशभरका साथीहरु जो झन्डैझन्डै ५३ प्रतिशतको संख्यामा हस्ताक्षर गर्नुभएको छ ।’
आगामी मंसिरभित्र पार्टीको नियमित महाधिवेशन गराउने कुरामा पदाधिकारीबीच एकमत हुन नसकेपछि विशेष महाधिवेशनको काम गर्नुपरेको महाधिवेशन प्रतिनिधिहरुको भनाई छ ।
जेन-जी प्रदर्शनपछि नेतृत्व छोड्न दबाब झेलिरहेका सभापति देउवा पार्टीको सक्रिय राजनीतिबाट अलगिएका छन् । हिजो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले अब आफू अभिभावकीय जिम्मेवारीमा रहने घोषणा गरेका थिए ।
टिप्पणीहरू