अवाञ्छित गतिविधि देखिए खबर गर्न आग्रह

अवाञ्छित गतिविधि देखिए खबर गर्न आग्रह

नजिकिँदो तिहार र छठ पर्वमा अवाञ्छित गतिविधि भएको देखिए तुरुन्तै खबर गर्न प्रहरीले अनुरोध गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै आतिशबाजी पड्काउने, जुवातास खेल्ने खेलाउने, लागूऔषध सेवन तथा ओसारपसार, चोरी, लुटपाटजस्ता गतिविधि भएमा जानकारी गराउन आग्रह गरेको हो । 

‘आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरुबारे प्रहरीलाई समयमै खबर गरौं,’ सूचनामा भनिएको छ, ‘आतिशबासी (पटाका, झिझिरे पड्काउने) नगरौं । (मुलुकी अपराध संहिता, २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्छ ।’ 

त्यस्तै, नागबेली तवरले सवारी साधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान वा धुम्रपान सेवन नगर्न, नगद, बहुमुल्य सामान र गरगहना सकेसम्म लकरमा राख्न, छतमा चढेर यात्रा नगर्नसँगै जथाभावी गाडी पार्किङ नगर्न, अपरिचित व्यक्तिले दिएका खानेकुरा नखान पनि आग्रह गरिएको छ । 

चाडपर्वको बेला चोरी, लुटपाटजस्ता अपराध हुनसक्ने भएकाले नचिनेको व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोल्न, घर, टोल वा छिमेकमा आपतकालिन साइरन, सिसिटिभी क्यामेरा जोड्न, लामो समय घरबाहिर जानु परेमा विश्वासिलो छिमेकी वा प्रहरीलाई जानकारी गराउन, ‘तिहार र छठ पर्वको लागि गाउँ जान लागेको’ भनि सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि सुझाइएको छ । 

साथै, तिहारमा आफ्नो चिनाजानी भएको स्थानमा मात्र मर्यादित एवम् सभ्य तवरले देउसी भैलो खेल्न प्रहरीको अपिल छ । ‘यहाँहरु मर्यादित एवम् सभ्य तवरले ढुक्क भई चाडपर्व मनाउनुहोस्, प्रहरी सदैव यहाँहरुको सुरक्षामा छ,’ सूचनामा भनिएको छ । 

टिप्पणीहरू