के भयो देशमा ? के हुने होला ? नेपाली मनको पिरलो
शरद ऋतुमा मनसुनको उपद्रो अनि आतंकित मनले यसपटक दसैँ हर्षको पर्वभन्दा दसा अनुभूति भयो जनमनमा । शान्तिक्षेत्र, स्वतन्त्र, स्वाभिमानी भनिएको देशका नागरिक कति असुरक्षित रहेछौँ ? आम नेपाली मनमा चिन्ता र चासो व्याप्त छ । साम्राज्यवादको उपनिवेश भएन नेपाल भनेर गर्वले भनिन्थ्यो अब कतिबेला कहाँ के हुने हो ? त्रास पो बढ्न थाल्यो । चाकरीबिना जिल्ला समन्वय समिति पाल्पाको प्रमुख चुनिएका टंकनाथ खनालले मनको वह पोख्नुभयो । उहाँ कसैसँग झुक्नुभएन, विधि पद्धतिमा चुक्नुभएन । भान्से, चालक र स्वकीय सचिव फलानाफलानालाई राख्नुपर्यो भनेर आएका मौखिक सिफारिसकर्तालाई भन्नुभयो–‘पकाउन, भाँडा माझ्न आफैँ सक्छु, चालक दरबन्दीकै भएपछि अर्को राखेर राज्यलाई आर्थिक भार किन थप्ने ? स्वकीय सचिवको खाँचो छैन म आफैँँ काम गर्न सक्छु ।’ नेतालाई देवत्वकरण गर्नु संगठन सिध्याउनु हो भनेर भन्ने खनाललाई सम्झेर पाल्पाली कमरेडमाझ चर्चा चलेको सुनिन्छ–टंक खनालले भान्से, चालक, स्वकीय सचिव नराखेर ठीक गर्नुभयो । राखेकालाई जेनजी सरकारले हटाइदियो । यो एउटा सन्दर्भ हो आबश्यक भए राख्ने वा के कामका लागि राख्ने ? कि राख्नका लागि अथवा शानका लागि, जागिर खुवाउनका लागि मात्र राख्ने ? राखेकाबाट के कार्य सम्पादन भयो ? वा जागिर मात्र खायो, खुवाइयो ? राख्नुपर्ने, योग्यलाई राखियो वा आफ्नैलाई राखियो ? समीक्षा गर्ने परिपाटी बसेन ।
विगतमा कम्युनिष्ट पार्टीको जिम्मेवार पदमा बसेका पछिल्लो समय संगठनमा चाकरी प्रवृत्ति मौलाएपछि आफू स्वतन्त्र रहेको बताउने अर्का एकजना आदिवासी कमरेड (नाम नलेख्न आग्रह) ले वर्तमान परिवेश सिर्जना हुनुको मुल कारण नेताले विधि, पद्धति उलङघ्न गर्नुलाई मानेका छन् । उनी भन्छन–‘मूल पार्टीका शीर्ष नेताहरूलाई कतिपय आफ्नै कार्यकर्ताले देवत्वकरण गरे । पञ्चायत विरुद्ध जनता जगाउँदै गाउँबस्तीका समर्थक, शुभचिन्तकका झुपडीलाई आश्रय ठानेर रमाएका, सामान्य भेषभूषा अनि खानपानमा सन्तुष्ट भएकाको सांसद, मन्त्री बनेपछि फेरिएको जीवनशैलीप्रति लक्षित नागरिकहरूको आलोचना, गुनासोप्रति सरोकारवालाहरूले ध्यान दिन आवश्यक ठानेनन् । राजनीति कमाउने पेसा बनाईयो । जनप्रतिनिधि निर्वाचित हुनु जागिर खाने अवसर प्राप्त गर्नु हो भन्ने नजीर बसाइयो । वडा अध्यक्षका लागि नै लाखौं खर्च गर्न नसके नजित्ने अवस्था कसले बनाएको हो ? साझा समावेशी, समानुपातिक पद्धति भनियो तर आसेपासे र दामदिनेलाई सांसद, मन्त्री बनाइयो ! संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने आफू सामन्त र तानाशाह बन्ने ? कसरी आम नागरिकको मन जित्ने भन्दा पनि बेथितिमा रमाउने प्रवत्ति उत्कर्षमा पुगेको थियो । अझै चेतेका छैनन् माउ नेता हौ भन्नेले ! युक्रेन वा सोमालिया बने चित्त बुझ्ने हो ?’ विगतमा समेत बेथितिका विरुद्ध बोल्न नडराउने उल्लिखित पात्रले ठुला भनिएका पार्टीका संगठन धानेका छन् । त्यहाँ पनि पछिल्ला दिनमा धमिरोप्रवृत्ति हुर्कदै गएको पीडित कार्यकर्ताको गुनासो छ । संगठनका जग भनेका इमान्दार कार्यकर्ता हुन ती यतिबेला निरास छन् ।
०८२ भदौ २३ को जेनेरेसन जेड (जेनजी) समूहको आव्हानमा भएको विद्रोहमा मारिएका र २४ गते आगजनी र तोडफोडबाट भएको क्षतिप्रति भन्दा मूलधारका शीर्ष नेतालाई संसद भंग भएकोमा पीडा भएपछि गाउँबस्तीका टोल हुन वा सहरका सडक र चियापसलमा समेत यसबारे चर्चा परिचर्चा बढे । (यद्यपि पाल्पामा जनधनको क्षति भएन) । जेनजी विद्रोहका अगुवा मिराज ढुंगाना । रक्षा बमलगायतको भन्दा आफू स्वयंसेवक भएर काम गर्दै आएको बताउने हाम्रो नेपाल संस्थाका सुदन गुरुङ, काठमाडौंका मेयर बालेन्द्र शाहबारे पक्ष विपक्षमा तर्क भए । बालेन्द्रले चीनले बोलाउँदा नगएको, भारतलाई चुनौती दिँदै ग्रेटर नेपालकै नक्सा कार्यकक्षमा राखेको, अमेरिकासँग पनि नझुकेको आदि इत्यादि कारणले नेपाललाई समृद्ध बनाए उसैले बनाउँछ तसर्थ साह प्रधानमन्त्री बन्नुपर्छ भन्ने तर्कहरू मोफसलका गल्लीमा समेत सुनिए । दुर्गा प्रसाईंको एजेण्डाले राजधानीमात्र नभइ मोफसलमा समेत चर्चा पायो । कतिले हर्क साम्पाङ जातीय÷साम्प्रदायिक भावना भएको व्यक्ति भन्दा बालेन्द्र ठीक भने त कतिले ठूला दलका नेताले रवि लामिछानेलाई अगाडि बढ्छ भनेर खुट्टा तानेको आरोप लगाए । जेनजी समूहको अगुवा (वास्तविक त कार्यकारी प्रधानमन्त्रीलाई पनि थाहा छैन रे) नेता मिराज ढुंगाना, रक्षा बम, पुजन राजभण्डारी, प्रदीप ज्ञवाली, मनीष खनाल, सतिश ओझा, आदित्य कर्ण, जस्मिन ओझा, प्रवेश दाहाल, अभिषेक श्रेष्ठ, उत्कर्ष श्रेष्ठ आदि वा अरु हो कि गुरुङ नै हो जो वार्तामा गयो भनेर चर्चा खुवै भयो । सुशीला कार्कीको सरकारका मन्त्रीहरूमध्ये महावीर पुन र जगदीश खरेल प्रति तुलनात्मक हिसावले नकारात्मक टीकाटीप्पणी न्यून भेटिन्छ ।
तीज लगत्तै भएको जेनजी विद्रोह अनि आगजनीका कारण मानवीय तथा भौतिक क्षति जति भयो त्यो भन्दा बढी नेपाल छिमेकी देशलगायत विभिन्न शक्तिराष्ट्रको निसानामा रहेको, प्रयोगशाला बन्न पुगेको चिन्ता पोखियो । गाउँबस्तीमा पुग्दा अघोषित उपनिवेश भयो नेपाल भनेर पिर मानेका अभिभावक भेटिए । यसपटक दशैंमा प्रायः अधिकांश नागरिकमा हर्ष, उमंग होइन, कतिबेला के हुन्छ अब ? भन्ने मानसिक सन्त्रास थियो । फागुन २१ मा चुनाव होला कि नहोला, कात्तिकमा अर्को विद्रोह हुँदै छ रे भन्ने सन्त्रास कतिपय जनमनबाट हटेको छैन । केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो १० वर्ष सत्ताको नेतृत्व गरेर पनि आमनेपालीमा उत्पन्न वितृष्णाप्रति बेखबर रहँदा र देवत्वकरण गर्नेको घेराबन्दीमा रहेर रमाउँदाको परिणाम हो यो भनेर यतिबेला तीन माउ दलका कार्यकर्ताले नै भनिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका होस् वा जेनजी समूहको रोजाइमा प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीबारे समेत टिप्पणी हुने गरेका छन् । दुर्गा प्रसाईं, ज्ञानेन्द्र शाही, पूर्वराजा ज्ञानेन्द्र शाहलगायतबारे समेत नागरिकस्तरमा चर्चा हुनुलाई आमनेपालीको चेतनास्तर वृद्धि भएको मान्ने वा नेपाली नागरिक राष्ट्र, राष्ट्रियताप्रति सजक हुनुको सट्टा केही नेतालाई देवता ठानेर पटक–पटक मत दिनु नै वर्तमान परिणाम ठान्ने ? समीक्षा गर्नुपर्ने बेला भएको छ । अन्यथा भारत, चीन र अमेरिका वा अरु कसैका स्वार्थका लागि हामी पिल्सिनुपर्ने अवस्था नआउला भन्नु कसरी ? (स्वतन्त्र पत्रकार)
टिप्पणीहरू