ओली रणनीति - आरोप लाउने तर नाम नलिने
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते मुलुक तहसनहस पार्ने षड्यन्त्र भएको र त्यसमा शक्ति राष्ट्रको हात रहेको आरोप लगाएका छन् । हिजोदेखि ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा शुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो विध्वंसात्मक गतिविधि कुनै आन्तरिक असन्तुष्टिबाट मात्रै नभएर वाह्य योजनाबाट प्रेरित भएको दाबी गरेका थिए ।
ओलीले शक्ति राष्ट्र भने पनि नाम किटानी गरेका छैनन् । तर उनले उक्त घटनालाई ‘राष्ट्र,जनता,लोकतन्त्र र संविधानविरुद्धको भयानक आक्रमण’ भन्दै कलर रिभोलुसन निरन्तरताको आरोप लगाएका छन् । शीतयुद्धपछि विभिन्न मुलुकमा सरकार परिवर्तनका नाममा भएका हस्तक्षेपजस्तै प्रयास गत महिना नेपालमा पनि दोहोरिएको उनको भनाइ छ ।
एमाले अध्यक्षले भदौ २३ र २४ का घटना लामो तयारीसहितको योजना भएको ठोकुवा गरेका छन् । त्यसको उद्देश्य सरकार परिवर्तनमात्रै नभएर राष्ट्रियता, लोकतन्त्र र संविधानलाई समाप्त पारेपछि देशलाई भूराजनीतिक भुमरीमा फसाउने रहेको टिप्पणी गरेका हुन् । तर उनले यस्तो अभ्यास गर्ने शक्ति राष्ट्र कुन हो ? भन्ने खुलाएका छैनन् ।
बैठकमा सहभागी सदस्यहरुले अध्यक्षको आरोप महाशक्ति राष्ट्र अमेरिकालक्षित रहेको टिप्पणी गरेका छन् । उनीहरुका अनुसार अवैधानिक रुपमा गठित अन्तरिम सरकार,त्यसमा सहभागी मन्त्रीहरु, थपिन खोजिएका नयाँ अनुहार र दलाई लामाको बधाईले अध्यक्षको आरोप पुष्टि भएको छ ।
टिप्पणीहरू