पुनले सम्हालेको मन्त्रालय फुटाउने तयारी
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय फुटाउने तयारी गरेको छ । शिक्षामन्त्री महावीर पुनले विज्ञान तथा प्रविधिको लागि छुट्टै मन्त्रालय बनाउन छलफल थालिएको जानकारी दिएका हुन् ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका मन्त्री पुनका अनुसार शिक्षा, विज्ञान र प्रविधिसम्बन्धी काम एउटा मन्त्रालयबाट गरिँदा सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन । त्यहि भएर शिक्षा र विज्ञान तथा प्रविधिसम्बन्धी विषय हेर्नको लागि छुट्टाछुट्टै मन्त्रालय आवश्यक परेको उनको भनाइ छ ।
मन्त्री पुनले पछिल्लो निर्णयबारे जानकारी दिँदै भनेका छन्, ‘विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने र विज्ञान प्रविधि, नवप्रर्वतन, सूचना प्रविधि, जल तथा मौसम विज्ञानसम्बन्धी सम्पूर्ण कामहरु सोही मन्त्रालयमार्फत् गर्न गराउनेबारे छलफल सुरु गरियो ।’
त्यस्तै, उनले नेपाल खुला विश्वविद्यालयमा रिक्त रहेका १० र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रिक्त रहेका ७ सिनेटको पदमा निष्पक्ष ढंगले नियुक्त गरिएको पनि जानकारी गराएका छन् ।
टिप्पणीहरू