जेलबाट भागेको ज्यानमारा कैदी दूतावास पछाडि
केन्द्रीय कारागार सुन्धाराबाट फरार कैदी विशाल महर्जन लाजिम्पाट नजिकै पक्राउ परेका छन् । उनलाई आज दिउँसो साढे १२ बजे काठमाडौं महानगरपालिका–२६, रानीवारीस्थित दक्षिणकाली मन्दिर अगाडिबाट पक्रिएको बताइन्छ ।
भारतीय दूतावासको पश्चिमतर्फको पर्खाल बाहिर रहेको उक्त मन्दिर छेउबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्रहरी नायव निरीक्षक विचित्र थापामगरको कमाण्डमा खटिएको टोलीले कारागारबाट फरार महर्जनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त लैनचौरमा राखिएको थियो ।
३१ वर्षीय महर्जन सामाखुसीका बासिन्दा हुन् । उनी सवारी ज्यान मुद्दामा केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भोग्दै आएका थिए। पक्राउ परेपछि उनलाई प्रहरी नायव निरीक्षक चन्द्रमाया श्रेष्ठको कमाण्डमा रहेको चार सदस्यीय टोलीमार्फत् केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
टिप्पणीहरू