प्रदर्शन र विध्वंशको छानबिन गरियोस् : जेन जी
गत भदौ २३ र २४ गतेका जेनजी प्रदर्शन र विध्वंसको छानबिन गर्न जेन जी युवाहरूले माग गरेका छन् । झण्डै ६ दर्जन जेन जी युवाहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको क्रममा भएको बर्बर दमन, क्रूर हत्या र आपराधिक घटनाहरूको गम्भीर तथा निष्पक्ष छानबिनको माग गरेका छन्।
‘यस्ता सुनियोजित आपराधिक गतिविधिलाई आधार बनाएर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई अपराधीकरण गर्ने दुष्प्रयासको हामी घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। ‘त्यस्ता आपराधिक कार्यमा संलग्न जोसुकैलाई अनुसन्धान गरी कानूनी कठघरामा उभ्याउन हामी जोडदार माग गर्दछौं।’
शहिद र घाइते परिवारलाई उचित क्षतिपूर्ति तथा सहयोग, प्रभावित पक्षहरूको निष्पक्ष मूल्यांकन र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने, र आउँदो निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दललाई आह्वान गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूको ठहर अनुसार देशलाई संवैधानिक र राजनीतिक संकटबाट जोगाउने एकमात्र उपाय निष्पक्ष र समयबद्ध निर्वाचन हो।
त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायलाई पूर्ण स्वायत्तताका साथ काम गर्ने वातावरण बनाइदिनुपर्ने, विगतमा दर्ता भएका तर विभिन्न बहानामा टुंगोमा नपुगेका सबै भ्रष्टाचारका मुद्दाहरूको छानबिन अघि बढाइदिनुपर्ने माग पनि विज्ञप्तिमा समावेश छ।
‘कुनै पनि राजनीतिक हस्तक्षेप वा दबाबबिना अनुसन्धानलाई निष्कर्षमा पुर्याइ दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्दछ,’ विज्ञप्तिमा उल्लेख छ। जेनजी प्रतिनिधि तनुजा पाण्डे, अभिजित अधिकारी, प्रभात तिमल्सिना, पुली पोखरेल, भवना घिमिरे, हिमांशु लगायत ७० जनाले संयुक्त विज्ञप्ति निकालेका छन्।
टिप्पणीहरू