भुइँको टिप्ने कि पोल्टाको जोगाउने ?

भुइँको टिप्ने कि पोल्टाको जोगाउने ?

समसामयिक नेपाली राजनीतिबारे चर्चा गर्दा हामी सबैले भन्ने गरेका छौं– ‘मैले त पहिले नै भनेको थिएँ वा भनिदिएको थिएँ, अब यसरी हुँदैन ।’ यस्तो लाग्छ, हामी सबैलाई सबै कुरा हुनुभन्दा पहिल्यै थाहा थियो । तर फरक यति मात्र छ, जे हुन्छ त्यो भएपछि मात्र ‘थाहा थियो’ भनेर हामीलाई थाहा हुन्छ । हामीलाई थाहा नभएकोचाहिँ के गर्नुपर्छ र के गर्दै छौं भन्ने मात्र हो ! हामीलाई यस्ता धेरै कुरा थाहा थिए, जुन यसप्रकार छन् –

नत्र, कुर्सी भाँचिदिन्छु ।
नत्र, सिंहदरबार जलाइदिन्छु ।
नत्र, बंगलादेश बनाइदिन्छु ।
नत्र, हेलिकप्टरमा भाग्ने सुविधा दिन्छु ।
नत्र, घरबाट निकालेर सडकमा घिसार्छु ।

यस्ता धेरै थाहा भएका कुराको जगमा अहिले जे भएको छ, त्यही खरानीमा उभिएर हामी फेरि भनिरहेछौँ, ‘अझै धेरै हुन बाँकी छ ।’ घरै जलाए खरानीको कमी नहुने कुराचाहिँ हो हामीलाई थाहा नभएको ! तर हामीले कसैलाई सोधेनौं, जसले यी कुरा किन गरेका थिए ? यस्ता कुरा गर्नु हुन्थ्यो कि हुन्नथियो ? जुन कुरा जसले हिजो थाहा छ झैँ गरेर गरे, त्यसैको शिकार पनि उनीहरू नै कसरी भए ?

फेसलेस, जेनजी समूहको संयोजनमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र नागरिकको अभिव्यक्ति स्वतन्त्रताका माध्यम ‘सोसल मिडिया’बन्द नगरिउन् भनेर गरिएको बिरोध प्रदर्शनलाई सरकारले समयमा गम्भीरतापूर्वक लिएन । चरम दमन र हिंसाको परिणामपछि मात्र सरकारले थाहा पायो– ‘घुसपैठ र षड्यन्त्र भयो ।’ 

नेतृत्वबिनाको आन्दोलनको परिणाम उत्पन्न परिस्थितिपछि जेनजी समूह पनि यसको जस लिने वा नेतृत्व प्राप्त गर्ने प्रतिष्पर्धामा छन् । हिजो सरकारले उनीहरूका भावना समेटेर विधिको शासन गर्नुपर्ने मागहरू अब सत्ता शेयरको भागबण्डादेखि लिएर शासकीय स्वरूपमा हस्तक्षेप गर्नेसम्मका विवादमा रुमल्लिएको छ । राजनीतिक पार्टीका एजेण्डारहित शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका जेनजी समूहमा राजनीतिक पार्टीलगायत स्वार्थ समूहका एजेण्डाले प्रवेश मात्र गरेको छैन विवाद र विभाजन पनि शुरु भएका दृष्टान्त सतहमा आएका छन् । सामाजिक सुधारको मुद्दामा एकताबद्ध जेनजी आन्दोलनमा एक महिना नपुग्दै नेपाली समाजमा राजनीतिक पार्टीले रोपेको राजनीतिको अस्वस्थ प्रतिस्पर्धा र विभाजनको ‘विष–वृक्ष’को असर देखा परिसकेको छ ! यो विधि र व्यवस्थाले पूरा गर्न नसक्ने माग थप्दै र महत्वाकांक्षा बढाउँदै जाने हो भने एकदिन यस्तो पनि हुन सक्छ– भुइँको टिप्न खोज्दा पोल्टाको पनि भुइँमै छरिन सक्छ ! यो खतराप्रतिको सचेतताका लागि तोकिएको समयमा निर्वाचन गरेर त्यसपछि गठन हुने नागरिक सरकार र संसदमार्फत बाँकी आवश्यकताका लागि पहल गर्नु बुद्धिमानी हुन्छ । यो सचेतता जेनजी र राजनीतिक पार्टीहरूको प्राथमिकतामा परोस् । पेशा–व्यवसायलगायत नागरिक समाजको खबरदारी पुगोस् ।

आफ्नै सिफारिसमा गठन भएको सरकारलाई ‘हा–हू’ सरकारका रूपमा अस्विकार गर्ने कि जनमतको लागि अग्रसर हुने ?

हामी कसैसँग जादुको छडी पनि छैन । हाम्रा क्षमता र साधन–स्रोतको सीमा पनि सीमित छन् । सकेको र सक्नेजति इमान्दार प्रयास राजकीय पद–प्रतिष्ठामा पुगेका र रहे–बसेका सबैले गरिदिए धेरै हुने थियो । सोसल मिडियामा हामीले दिने अभिव्यक्तिमा प्रकट हुने जादुका छडीहरू पनि समाजलाई उत्तेजित बनाउन’ आगोमा घिउ’ त भएकै छन् तर कामयाव हुन सक्ने देखिँदैनन् । बहालवाला प्रधानमन्त्री सुशीला कार्कीको ‘टुँडीखेलमा उभ्याएर ५ दिनमै भ्रष्टाचार नियन्त्रण गर्न सकिने’ दावी प्रधानन्यायाधीश हुनुभन्दा पहिलेको थियो भने प्रधानन्यायाधीश हुँदा कति कार्यान्वयन भयो ? प्रधानन्यायाधीश भएपछिको मात्र ‘बोध’ हो भने उहाँले न्यायालयको नेतृत्व सम्हाल्नुभएको बेला त्यो जादुको छडी किन कार्यान्वयन हुन सकेन ? उहाँलाई अहिलेका राजनीतिक पार्टीहरूको ‘अपुताली’मा प्राप्त प्रधानमन्त्री पद भने कर्मकाण्डी अवसर मात्र हो भनेर बुझे पनि फरक पर्दैन । महिलाहरू लैंगिक विभेदका कारण विगतमा अवसरहरूबाट वञ्चित गरिँदै आएको पुष्टि गर्न सके उहाँको कुशल नेतृत्वमा तोकिएकै समयमा निर्वाचन हुन्छ र देशले नागरिक सरकारको नेतृत्व प्राप्त गर्न सक्छ । महिलाले अवसर नपाएर मात्र हो नत्र त गरेरै देखाउने उदाहरण बन्ने छ अन्यथा ज्ञानेन्द्र शाहका ‘अक्षम’ प्रधानमन्त्रीको लहरमा उहाँको पनि एउटा फोटो थपिनेछ । सामाजिक सञ्जालमा उत्तेजना, आक्रोश र अतिरञ्जनाका अभिव्यक्ति स्वार्थ समूहका ‘कन्सिपरेन्सी थ्यौरी’ मात्र हुन् भनेर मान्न नसकिने उदाहरणका लागि पूर्वन्यायाधीश एवं विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की पनि हुनुहुन्छ । उहाँले जेनजी आन्दोलनबारे सामाजिक सञ्जालमा ‘फैसला’ लेखिसकेपछि छानबिन समितिको संयोजक बनेर छानबिनका नाममा समय र साधनस्रोत खर्च गर्न आवश्यक थिएन । 

नागरिक गुनासाका पहाड अनेक छन् राजनीतिक पार्टी र तिनका नेतृत्वसँग । गुनासा यसकारण छन् कि आश पनि उनीहरूबाटै धेरै छ । तर, आफ्ना कमीकमजोरीलाई सधैँ ढाकछोप गर्दै र तिनलाई ‘घुसपैठ–षड्यन्त्र’ मात्र देख्दै आएका राजनीतिक पार्टीका नेताहरूले नै भन्ने गरेको ‘घुसपैठ–षड्यन्त्र’ समयमा चिन्न र नियन्त्रण गर्न नसक्नु उनीहरूको ‘निर्विकल्प महान् नेतृत्व’को लज्जास्पद कमजोरी र असफलता हो । भदौ २३ गतेको सरकारी दमन र हिंसाको परिणामलाई राजनीतिक नेतृत्व र सरकारले जुन समय–सीमाभित्र गम्भीरतासाथ लिएर संबोधन गर्न सक्नुपथ्र्यो त्यो गर्न नसक्दा वा गर्न नचाहँदा जनताको आक्रोशलाई कुनै अदृश्य शक्तिले हतियार बनाउने मौका पायो । दोस्रो दिनको विध्वँश सरकारी दमन र हिंसा पीडित नागरिकको स्वाभाविक आक्रोश मात्र नभएर ‘धमिलो पानीमा माछा मार्ने’ स्वार्थ समूहहरू र विध्वंश पीडितहरूकै बीचको ‘आन्तरिक अस्वस्थ प्रतिस्पर्धा तथा अराजनीतिक व्यवहार’को परिणाम पनि हो भनेर सतहमा आएको छ । विध्वँश पीडितहरूका गुनासा, आरोप–प्रत्यारोप र सङ्केतका सुई एक–आपसतिर पनि सोझिएका छन् !

राजनीतिक पार्टीहरूले हिजोको गल्ति कमिकमजोरी महसुस गर्न नसक्ने र स्वीकार नगर्ने, लज्जाबोध नहुने, दुःखका परिणामहरूप्रति सहानुभूति पनि प्रकट गर्न नसक्ने व्यवहारले शान्तिपूर्ण आन्दोलन पक्षधरहरूका माग र अपेक्षाहरू विषयान्तर हुँदै आएका छन् । एकदिन पहिलेसम्म भोलिको आकलन गर्न नसक्ने र प्रतिकूल अवस्था उत्पन्न भएपछि मात्र षड्यन्त्र थाहा हुन्छ भने यो कसरी कुशल तथा सक्षम नेतृत्व हुनसक्छ ? आफ्नो पार्टीका लागि बहुमतको सरकार गठन गर्न पर्याप्त जनमत आवश्यक भएकाले यसभन्दा पहिले २–२ पटक संसद विघटन गर्नुहुने निवर्तमान प्रधानमन्त्री अहिले विद्यमान विधि र व्यवस्थालाई जोगाउन र ताजा जनादेश प्राप्त गरेर आफ्नो पार्टीलाई सरकारमा पुर्‍याउन किन पार्टी संरचनालाई परिचालन गर्न चाहनुहुन्न ? आफ्ना कमजोरीले सिर्जना गरेको अवस्थालाई अब पूर्ववत् अवस्थामा नै पुर्‍याउने उहाँको घोषणाले समाज र राजनीतिलाई शान्तिपूर्ण अग्रगमनभन्दा पनि द्वन्द्व र यथास्थितिमा ‘समयलाई रोक्ने’ प्रयास हो । यो समयलाई रोक्ने प्रयासमा उहाँलाई प्रेरित गर्ने ‘सुमेरु परिक्रमा’ वालाहरूलाई पनि उहाँले चिन्नुपर्छ अब । आफ्नै सिफारिसमा गठन भएको सरकारलाई ‘हा–हू’ सरकारका रूपमा अस्विकार गर्ने कि जनमतको लागि अग्रसर हुने ? प्रमुख मानिएका राजनीतिक दलहरूको नेतृत्वले आजीवन नेतृत्वको ‘भोक–भोग’ राख्नु भुरे–टाकुरे राजतन्त्रको अभ्यास गर्नु हो ।

करिब ६–७ दशक लामो प्रयासपछि करिब १० वर्ष लगाएर तयार गरेको वर्तमान संविधानलाई सामाजिक सुधारका लागि सरकारले गरेको अकर्मण्यताकै कारण सही तर यसबाट उत्पन्न आक्रोशबाट फेरबदल गर्न कति सम्भव हुन्छ ? यसै संविधानको विधि र व्यवस्थाको सानो धागो समातेर सेनाले राष्ट्र«पतिमार्फत गठन गरेको यो सरकारले तोकेको समयमा निर्वाचन गरेर हामी पूर्ववत अवस्थामा पुगी संविधानलाई अपनाउन र प्रयोगमा ल्याउन सक्छौं । त्यसका लागि राजनीतिक पार्टीहरूका समग्र संरचना परिचालन नगर्ने हो भने सरकारले चाहेर मात्र निर्वाचन नहुने विगतका नजिर पनि छन् । सरकारलाई निर्वाचन गर्नका लागि दबाब दिने र वातावरण तयार गर्ने काम राजनीतिक पार्टीहरूको पनि हो । यसमा जेनजी समूह र नागरिक समाजले पनि सरकारलाई निगरानी गर्न र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुनका लागि राजनीतिक पार्टीहरूलाई महसुस गराउन भूमिका खेल्नुपर्छ । आफ्ना अपेक्षा र एजेण्डा राजनीतिक पार्टीहरूका घोषणा पत्रमा पार्न राजनीतिक पार्टीलाई दबाब दिन पनि जेनजी समूहरूको अग्रसरता आवश्यक छ । 

सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्रमा विधिको शासन भएन । सुशासन, पारदर्शीता र प्रजातान्त्रिक अभ्यास हुन सकेन । विधिले नै काम नगरेको हो कि विधिको कार्यान्वयन गर्नुपर्ने नेतृत्वले काम नगरेको हो ? नेतृत्वले काम नगरेको हो र यही विधिमा नै हिंड्ने हो भने विधिलाई बचाउने र यसको कार्यान्वयन गर्नका लागि विधिका संरचना बलियो बनाउने र कार्यान्वयन गर्ने तथा परिक्षणबाट असफल नेतृत्वलाई परिवर्तन गर्नु पर्छ । गत भदौ २३–२४ मा चुँडिएको विधिको तार–धागो भदौ २२ मा फर्केर जोड्न सकिन्न । त्यसका लागि फागुन २१ को जनमतबाट निर्वाचित संसद र नागरिक सरकारमार्फत मात्र जोड्न सकिन्छ । आफूलाई निर्विकल्प नेतृत्वको दावी पनि गर्ने र आफ्नो हातमा शासन सत्ताको नेतृत्वको अवसर प्राप्त भएकाहरूकै असफलताको परिणाम हो यो अवस्था सिर्जना भएको ।

यो पनि हामीलाई थाहा भएकै कुरा हो ! आपसी कटुताको अन्त्य, अहंकार शून्य तथा राजनीतिक निषेध वा सिण्डिकेट नराखी अगाडि बढ्ने हो भने अहिलेको यो अनपेक्षित, अप्रिय र अपूरणीय क्षति आगामी दिनका लागि अवसर र चुनौती पनि हो । भोलिको नेपाल, कवि हरिभक्त कटुवालको यो कवितामा हेरौं कसरी प्रकट भएको छ –

ती जो बिहानै काखीमा पुस्तकको ठेली च्यापेर
हुलका हुल निस्किरहेछन् गल्ली–गल्लीबाट
तिनलाई बाटो छोडिदेऊ !
ती लहर जस्तै उर्लेर आइरहेछन् ।
यी घर – जसलाई हामी घर ठानिरहेका छौँ
यी सडक – जसलाई हामी सडक भनिरहेका छौँ
यी मन्दिर – जसलाई हामी मन्दिर सम्झिरहेका छौँ
यी केही पनि प्रशस्त हुने छैनन् उनीहरूका लागि ।
ती त सपना बोकेर आइरहेछन् – निर्माणका गीत गाउँदै
उनीहरूलाई छेक्न नखोज !
आफूलाई चाहिने घर
आफूलाई चाहिने सडक
आफूलाई चाहिने मन्दिर
उनीहरू आफैँ बनाउनेछन्
निश्चित छ – भोलिको नेपाल उनीहरूले चाहे जस्तै हुनेछ ।

 

टिप्पणीहरू