स्वास्थ्यमन्त्रीमा नियुक्तिको चर्चापछि भ्रष्टाचार मुद्दा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध आज मुद्दा दर्ता गरिएको छ ।
स्वास्थ्य सेवा विभागकी महानिर्देशक रहँदा मिश्राले म्यामोग्राफी मेशिन खरिदमा अनियमितता गरेको आरोप लगाइएको छ। अख्तियारका अनुसार मिश्रासहितको मिलेमतोमा मेशिन अस्वाभाविक मूल्यमा खरिद गरिएको थियो ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरूलाई कैद र जरिवानाको सजाय मागदाबी गरेको छ। डा. मिश्रा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले स्वास्थ्य सचिवमा नियुक्ति नपाएपछि असन्तुष्ट हुँदै बिदामा बसेकी थिइन्। त्यसपछि डा. विकास देवकोटा सचिवमा नियुक्त भए ।
गत भदौ २३ र २४ गतेको जेन जी प्रदर्शन र विध्वंशपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा उनको नाम स्वास्थ्य मन्त्रीका रूपमा चर्चामा आए पनि अन्तिम क्षणमा नियुक्ति रोकिएको थियो। अघिल्लो दिन उनले मन्त्रीमा नियुक्तिका लागि अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।
टिप्पणीहरू