सिंहदरवारका सैनिक कमाण्डरलाई समात्यो सेनाले

सिंहदरवारका सैनिक कमाण्डरलाई समात्यो सेनाले

नेपाली सेनाका तीन जना उच्च अधिकारीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का,भवानीबक्स गण,सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कूल,तेघरी ब्यारेकका शिव भडेललाई अस्ति ३१ गते सरुवा गरिएको सर्कुलर निकालेर सेनाले भित्रभित्रै हिरासतमा राखेको बुझिएको छ । 

यी तीन कर्णेललाई भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा जंगीअड्डा बोलाएर सैनिक हिरासतमा राखी सोधपुछ थालिएको उच्च स्रोतले जानकारी दिएको छ । 

सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार कर्णेल खड्कालाई नम्बर २ बाहिनी अड्डा,धनकुटाको दरवन्दी राखिएको छ । उनले भदौ २४ गतेको विध्वंशका बेला सिंहदरबारमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल,प्रधानन्यायाधीशलगायतलाई त्यहीँको नरसिंहदल गणमा आश्रय दिएका थिए तर सिंहदरवारभित्र दिनदहाडै त्यत्रो आगलागी र क्षति हुँदा पर्याप्त सावधानी अपनाएनन् ।

सिंहदरवारको पश्चिमी मूलगेटबाट सशस्त्र एसएसपी राजेश उप्रेतीले हवाई फायर गरी उपद्रवकारीलाई एक खेप भगाउँदा भित्र सेनाको उपस्थिति देखिएन । बिध्वँशकारीले प्रहरीको बन्दुक पड्काउन थालेपछि बल्ल सशस्त्र पछि हटेको भिडियोहरु फेला पर्न थालेका छन् । 

सैनिक हिरासतमा रहेका अर्का कर्णेल तेजेन्द्र मगरलाई नम्बर ५ बाहिनी अड्डा पुर्याइएको छ । यसअघि उनी सिन्धुलीको भवानीबक्स गणमा गणपति थिए । उनीमाथि जेलका कैदीबन्दी भाग्दा रोक्न पहल नगरेको अभियोग छ । शिव भडेलमाथि
 भने टिकटक काण्ड लागेको छ ।

भदौ २३ र २४ को जेन जी उपद्रवमा सेनाको भूमिकालाई लिएर आम रूपमा प्रश्न उठिरहेको छ । सिंहदरबार,सर्वोच्च अदालत,संसद भवन मात्र होइन भैरवनाथ गणको ठ्याक्कै पारीपट्टी बस्ने आफ्नै परमाधिपतिको कार्यालय शीतल निवाससमेत जोगाउन नसकेको भन्दै सैनिक नेतृत्वमाथि चर्को आलोचना भैरहेको छ । 

तर,सेनाले भने उक्त दिनको परिस्थितिलाई हेरेर सोहीअनुसार खेल्नुपर्ने भूमिका खेलेको दावी गर्दै आएको छ । समय नपुग्दै सरुवा भन्दै  गणपतिलाई हिरासतमा राखिएको घटनाले आशंका बढाएको छ । 

यदि सेनाका तर्फबाट कमजोरी भएको थिएन भने उनीहरुलाई बाहिर सरुवा गरेको देखाएर भित्रभित्रै किन हिरासतमा लिइयो ? भन्ने प्रश्न उठेको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा  जानकारी लिने काम  भइरहेको बताए । 

तर,यी सबै काम भैरहँदा युध्दकार्य महानिर्देशनालयबाट बढुवा भएर उपत्यका पृतना सम्हाल्न पुगेका रविन्द्र खत्री र ५ चोटी सगरमाथा चढिसकेका बालाजूस्थित १ नम्बर बाहिनीपति सुनिलसिंह राठौरसङ्ग सामान्य सोधपुछसम्म नहुनुलाई भने फौजले निको मानेको पाइन्न ।

टिप्पणीहरू