इलामका बाढीपहिरो पीडित विद्यार्थीहरुलाई पाकिस्तानी छात्रवृत्ति

इलामका बाढीपहिरो पीडित विद्यार्थीहरुलाई पाकिस्तानी छात्रवृत्ति

पाकिस्तानले असोज दोस्रो साताका बाढीपहिरो पीडितलाई राहत सामाग्री उपलब्ध गराएको छ । नेपालस्थित पाकिस्तानी दूतावासले नेपाल–पाकिस्तान युवा परिषद्सँगको सहकार्यमा कोशी प्रदेशको इलाम जिल्लाका बाढीपीडित परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ।

मङ्गसेबुङ र फाकफोकथुम गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण कार्यक्रममा पाकिस्तानी राजदूत अबरार एच. हाश्मीले बाढीपीडित परिवारप्रति सहानुभूति र दुःखमा साथ दिँदै पाकिस्तानी जनताबाट प्रेमको प्रतीकस्वरूप सामग्री हस्तान्तरण गरेका हुन् । उनले दुई देशबीचको मित्रता र सहकार्य अझ सुदृढ बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, बाढीपछिको पुनःस्थापनाका क्रममा स्थानीय समुदाय र तीन तहका सरकारका प्रयासको प्रशंसा पनि गरेको दूतावासले जनाएको छ।

उक्त अवसरमा राजदूत हाश्मीले विशेष घोषणा गर्दै बाढीपीडित क्षेत्रका विद्यार्थीहरूका लागि पाकिस्तान सरकारद्वारा चिकित्सा शिक्षाका एमबिबिएस, बिडीएस, बी फार्मेसी कार्यक्रमअन्तर्गत पीटीएपी छात्रवृत्ति र ५० वटा उच्च माध्यमिक तहका छात्रवृत्ति प्रदानको घोषणा गरेका छन् ।

इलामको गजुरमुखीधाम, मङ्गसेबुङ गाउँपालिकामा राहत वितरण कार्यक्रममा इलामकी प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइराला, मङ्गसेबुङ गाउँपालिकाका अध्यक्ष तथा स्थानीय जनप्रतिनिधि, दूतावासका प्रथम सचिव मोहम्मद हारुन रशीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमनी लुइँटेल सहभागी थिए । 

यसअघि राजदूत हाश्मीले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती भण्डारीसँग विराटनगरमा भेट गरेका थिए। भेटमा राजदूतले हालैका बाढीका कारण प्रभावित कोशी प्रदेशका जनताप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै आफ्नो ऐक्यबद्धता यात्राको उद्देश्यबारे जानकारी गराएको बताइन्छ ।

टिप्पणीहरू