नेपाल सम्वतको नयाँ वर्ष ११४६ शुरु, म्हःपूजा र गाईतिहार आजै

नेपाल सम्वतको नयाँ वर्ष ११४६ शुरु, म्हःपूजा र गाईतिहार आजै

नेपाल सम्वत् ११४६ आजदेखि शुरु भएको छ । यो अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छ । नेवार समुदायले विगतदेखि यो सम्वतलाई नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (ई.सं. ८८०) मा गरिब जनतालाई ऋणमुक्त गराएपछि यो सम्वत् थालिएको थियो । 

वि.सं.२०५६ देखि शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको हो । वि.सं २०६५ देखि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिन थालिएको छ ।

आज तिहारको पाँचौँ दिनमा गाईपूजा गरिँदै छ । गाईलाई पूजा गरी मीठा खानेकुरा खान दिइन्छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनिन्छ । तिथिअनुसार आजैका दिन गोरुपूजा र गोवर्धन पूजा पनि गरिँदै छ ।

नेवार समुदायमा आज आत्मपूजाको पर्व म्हः पूजा मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आत्मा र जीवनशक्तिको सम्मान स्वरूप यो पर्व मनाउने गर्छन् । भक्तपुरमा यो पर्व हिजै मनाइएको छ।

भोलि भाइटीका लगाएपछि यो वर्षको तिहार समापन हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भोलि भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मीनेटमा रहेको छ।

टिप्पणीहरू