सुरु भयो ऐतिहासिक सिँगारु नाच

सुरु भयो ऐतिहासिक सिँगारु नाच

रोल्पा नगरपालिकासँगै सुनिलस्मृति, लुंग्री, माडी गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा आजदेखि ऐतिहासिक सिँगारु नाच सुरु भएको छ। द्यौसीभैलोको अभिन्न अंगको रुपमा लिइने यो नाचमा गीतमार्फत् घरधनीको स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरिन्छ। 

गीतमा कुबेरको धन र अमर आयुको आशिष् दिने विशेष भाव समावेश हुन्छ। यस नाचमा मुख्य रूपमा दुई कलाकार सांस्कृतिक तथा परम्परागत पोशाकमा सजिएर श्रृंखलाबद्ध नृत्य प्रस्तुत गर्छन्। 

शीरफूल, टीका, गाजल, कुण्डल, विडिया, हमेल, चोली, पछ्यौरी, पटुकी, घाँगर, पैजनलगायतका श्रृंगारले सुसज्जित ती कलाकारलाई मादलको लयमा पालैपालो नचाइन्छ। समूहका अन्य सदस्यहरूले गीतमा लय र स्वरमा साथ दिन्छन्।

देवताहरूको नाचसमेत भनिने यसमा झिम्रा भाका प्रयोग गरिन्छ। घरधनीको आग्रह वा राम्रै दान–दक्षिणाका लागि समूहले भाकामार्फत सिँगारु नाचको शुरु र अन्त्य गर्छन् । रोल्पाको पूर्वी गाउँहरूमा उक्त भाकाले नाच सुरु हुन्छ भने पश्चिमी गाउँमा समापन गरिन्छ।

परम्परागत विश्वासअनुसार, तिहारमा जुन घरमा यो नाच प्रदर्शन हुन्छ, त्यहाँ देवताको बास हुने र धन थुप्रिने जनविश्वास छ। आगामी तीन दिनसम्म चल्ने नाचका लागि कलाकारहरूलाई विशेष विधि र प्रक्रियाबाट नृत्यकला सिकाइन्छ । यस कलामा सिक्न केही त्याग र समर्पण गर्नुपर्ने परम्परा पनि छ।

नाचमा मादल र झ्याली मुख्य बाजा हुन् भने शुभारम्भका लागि दमाह, बाँसुरी, छम् लगायतका बाजा प्रयोग गरिन्छ।

 

टिप्पणीहरू