दलहरूका दिल दुखाई
फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागिताका निम्ति दलहरूलाई आग्रह गर्न सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत आयोजना गरेको भेला निकै रोचक बनेको सहभागीहरूले बताएका छन् । भाग लिने निर्णय गरिसकेका दलमध्ये एकीकृत समाजवादीका प्रतिनिधिले सरकारसँग त्यो मितिमा चुनाव नगर्ने योजना रहेको आरोप लगाएका थिए । वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री सुशीला कार्कीलाई सिधा प्रश्न गरे, ‘चुनाव गर्नु नै छ भने किन नचाहिएको काम र कुरा गर्दै हिँडिरहनुभएको ?
तपाईंँहरूलाई दिएको तीनवटा जिम्मेवारी हो । पहिलो, शान्ति सुरक्षा कायम गर्ने, दोस्रो आन्दोलनकारी जेनजी पुस्तासँग छलफल र वार्ता गर्ने अनि सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो चुनाव गराउने । तर, तपाईंंका मन्त्रीहरू तुरुन्तै भ्रष्टाचारीलाई कारबाही गर्ने, दमन गरेका कारण दलीय नेताहरूलाई समातेर मुद्दा चलाउने जस्ता अधिकार क्षेत्रभन्दा बाहिरका, चाहेर पनि गर्नै नसकिने कुरा गर्न किन तम्सिँदै छन् ? यसको एक मात्रै उद्देश्य हुन सक्छ दललाई भिडन्तका लागि उक्साउने र सडकमा निकालेर निर्वाचनको वातावरण बिथोल्ने ।’
जनमतका अध्यक्ष सिके राउतले कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीमाथि भएको कुटपिटको प्रतिरोधमा दलहरू उत्रिएका भए त्यसले कुन हदसम्म भयावह स्थिति सिर्जना गर्न सक्थ्यो भन्ने प्रश्न उठाएका थिए ।
आफ्नो अस्तित्व र आदर्शमाथि भएको प्रहारलाई समेत सहेर जसरी दलहरू चुपचाप बसेका छन् त्यसको सम्मान गर्न उनले मन्त्रीहरूलाई सुझाव दिए । यसरी संयमित भएर परिस्थितिलाई सहज बनाएका दलहरूलाई उत्तेजित बनाउने काम गर्नु हुँदैन भन्ने उनको निश्कर्ष थियो । राउतले भने, ‘यदि दलहरू पनि आन्दोलनकारी जेनजीहरूझैँ सडकमा निक्लेका भए मुलुक गृहयुद्धमा जान्थ्यो । धन्न, त्यसो भएको छैन त्यसैले वातावरण बिथोल्ने काम नगरे राम्रो ।’ सञ्चारमन्त्री जगदीश खरेललाई कटाक्ष गर्दै एक नेताले सिधै भने, ‘कतिपय धेरै बोल्नु पर्ने मन्त्रीहरू हुनुहुन्छ । उहाँहरूले पनि सम्हालिन सक्नुपर्छ । बाहिर बसेर बोल्नु र जिम्मेवारीसहित बोल्नु फरक कुरा हो ।’
प्रधानमन्त्रीले सिंहदरबारमा बैठक नबोलाएर दलहरूलाई राष्ट्रपतिले शीतल निवासमा निम्त्याएको विषयमा समेत दलहरूले सरकारको आलोचना गरे । एक नेताले कडा टिप्पणी गर्दै भने, ‘किन तपाईंहरू राष्ट्रपतिलाई संविधान र उहाँको पदीय जिम्मेवारीले नदिएको काम गर्न लगाइरहनुभएको छ ?’ उनले अगाडि थपे, ‘यदि अरुबेला हुन्थ्यो भने राष्ट्रपतिले सीमा नाघ्नुभयो भन्नुपर्ने हुन्थ्यो ।’
राजनीतिक सुझबुझ नभएका, अहिलेसम्म बाउआमाको कमाइमा डुलफिर गर्दै हिँड्ने, तार्किकभन्दा आवेगमा मस्त रहने जेनजीको डरका कारण प्रधानमन्त्रीले दलहरूलाई नबोलाएको आरोप नेताहरूले लगाएका थिए । सबैको एउटै भनाइ थियो, ‘आन्दोलनकारी नवयुवाले दलका नेताहरूसँग बोलेको, छलफल गरेको निको मान्दैनन् भनेर तिनको डरले राष्ट्रपतिलाई बैठक बोलाउन लगाएको होला ।
तर त्यसो गर्नु हुँदैन थियो ।’ नेताहरूको साझा प्रश्न रह्यो, ‘दलका नेताहरूसँग बोल्दै नबोली, छलफलै नगरी चुनावचाहिँ कसको लागि र को–कोबीच गराउनुहुन्छ ? के दलबिना चुनाव सम्भव छ ? यदि त्यस्तो छैन भने वार्ता गर्न हिच्किचाउनुको अर्थ के हो ?’ प्रश्नहरूको एकमुष्ट जवाफ दिँदै प्रधानमन्त्री सुशीला कार्कीले भनिन्, ‘अहिलेलाई राष्ट्रपतिको आड लिएकै हो । आगामी दिनमा सिंहदरबारमै बैठक बोलाउँछु । तपाईंँहरू सबैले चुनावमा भाग लिइदिनुप¥यो । हाम्रो जिम्मेवारी र कामप्रति शंका नगरिदिनुहोस् ।’ उनले एमाले, कांग्रेस माओवादीलगायत सबै दलका जेनजीहरूको समूह रहेको र उनीहरू सबैसँग समन्वय गर्नुपर्ने जिम्मेवारीसमेत आफूमा रहेको दोहोर्याएकी थिइन् ।
छ हजार कैदी जेलबाट बाहिर बसेको अवस्था, १२ सय वटा बन्दुक र ९८ हजार गोली अनि ठूलो मात्रामा प्रहरीको पोशाकसमेत लुटिएको र त्यसकोे दुरूपयोग हुन सक्ने खतरा तिनै नेताहरुले औंल्याएका थिए ।
काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले आन्दोलनको क्रममा बिपी, गणेशमान, पुष्पलाललगायत लोकतान्त्रिक आन्दोलनका आदर्श व्यक्तिहरूको सालिक भत्काएको, नेताहरूको पिएसओ खोसिएको विषयमा समेत चित्तदुखाई पेश गरेका थिए । प्रधानमन्त्रीले चुनावमा सहभागी बन्न पटकपटक आग्रह गरेपछि एक नेताले प्रष्ट शब्दमै भने, ‘तपाईंँहरू नै लौ सकिएन भन्दै हात उठाएर भाग्ने दिन आउँदैछ । के चुनावका कुरा गर्नुहुन्छ ?’
(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू