मारवाडी व्यापारीहरू सरकारलाई साँचो बुझाउन जाँदै

मारवाडी व्यापारीहरू सरकारलाई साँचो बुझाउन जाँदै

नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरी महसुल नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि निजी क्षेत्रमा असन्तोष चुलिएको छ। अस्ति रातिदेखि थप १८ वटा उद्योगको लाइन काटिएलगत्तै उद्योगीहरूले उद्योग नै बन्द गर्न लागेका  छन् ।

शिवम् सिमेन्टका अध्यक्ष गौरव गोयलको नेतृत्वमा आज विद्युत प्राधिकरणलाई उद्योगहरूको ताल्चा–साँचोको झुप्पो बुझाउने तयारी छ । 

प्राधिकरणले यसअघि छ वटा उद्योगको लाइन काटेकोमा अस्तिदेखि १८ थपिएका छन् । शुक्रबारदेखि पञ्चकन्या स्टिल,श्याम प्लास्टिक,गोयन्का फुड्स, कसमस सिमेन्ट,एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्डस्ट्रीज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको लाइन काटिएको छ ।

लक्ष्मीपूजाको भोलिपल्ट गत मंगलबारदेखि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटिएको थियो।

ऊर्जामन्त्री कुलमान घिसिङले भने महसुल नतिर्ने उद्योगहरूसँग ‘जसरी पनि बक्यौता असुली गराएरै छाड्ने’ चेतावनी दिएका छन्। उद्योगीहरूले महसुल तिर्नुपर्ने स्पष्ट आधार र गणनाको हिसाब माग्दै आएका छन् । 

व्यवसायीहरुले हालैको जेन जी विध्वंश, निजी क्षेत्रलाई हेर्ने सरकारको अस्पष्ट दृष्टिकोणले पुँजी पलायनको जोखिम बढेको चेतावनी दिएका छन् ।

टिप्पणीहरू