कलाकारहरुको पक्षमा चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान
जेनजी विध्वंशसँग जोडेर कलाकारलाई बदनाम गराउने प्रयास भएको भन्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आपत्ति जनाएको छ । प्रतिष्ठानले कलाकारहरुको सम्मानमाथिको प्रहार र हुर्मत लिने कार्य तुरुन्त बन्द गर्न चेतावनीपूर्ण आग्रह गरेको छ ।
विगतमा मुलुकमा भएका राजनीतिक परिवर्तनमा कलाकारको पनि उपस्थिति रहेको र जेन जी आन्दोलनमा पनि उनीहरुको सहभागिता इतिहासको निरन्तरता र लोकतान्त्रिक जिम्मेवारीको अभिव्यक्ति भएको प्रतिष्ठानको ठहर छ ।
‘यदि सामाजिक सरोकारमा बारेमा बोल्नु वा आन्दोलनमा सहभागी हुनु नै अपराध हो भने अहिलेसम्मका सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा सहभागी हुने नागरिक र नेतृत्वकर्ताहरु ने अपराधी ठहरिने छन् ?,’ उसको प्रश्न छ, ‘प्रदर्शनका क्रममा भएको क्षति वा घटनाको विषयमा छानबिन आयोग गठन भइसकेको सन्दर्भमा आयोगको प्रतिवेदन आउनुअघि नै कलाकारहरुमाथि गरिएको दोषारोपण र चरित्रहत्या कानूनी प्रक्रियाको अपमान र मानहानी पनि हो ।’
कलाकारलाई अनावश्यक पीडा दिन र सामाजिक सरोकारका विषयमा बोल्नबाट वञ्चित गर्ने कुनै पनि किसिमको नियन्त्रणको प्रयास बन्द गर्न प्रतिष्ठानको माग छ । ‘कलाकारहरु राष्ट्रको संवेदना र सामूहिक स्वर हुन् । उनीहरुका आवाजलाई कुनै पनि बहानामा बन्द गराउने अभ्यास कुनै पनि हालतमा स्वीकार्य हुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
आफू अनुकूल बोल्दा सही र प्रतिकूल बोल्दा गलत मान्ने परिपाटीविरुद्ध कानूनी उपचारको बाटोमा लाग्न र पेशागत ऐब्यबद्धता जनाउन पनि प्रतिष्ठानले चलचित्रसँग सम्बन्धित सम्पूर्ण संघसंस्थालाई आह्वान गरेको छ ।
टिप्पणीहरू