भन्नोस् त, के म नराम्रो कुरा मात्र लेखुँ !
०६० साल कार्तिक २६ गते बुधबार जनआस्थामा प्रकाशित
"सबैले भन्दैछन्-तिमीले लेख्नुपर्छ। तर,के लेखौं म आफै अलमलमा छु। प्रत्येक दिन कतै न कतै हिंसा हुन्छ,अमानवीय व्यवहार हुन्छ। द्वन्द्वबारे समाधानरहित गोष्ठी र सेमिनारहरू हुन्छन् । हिँसा रोकिनुपर्यो,शान्ति कायम गर्नुपर्यो भनेर दिनहुँ सडकमा नाराबाजी हुन्छ तर हिंसामा संलग्न दुवै पक्ष कानमा तेल हालेर बसेका छन् । के म यस्तै निराशाजनक कुरा लेखौँ ?
नेपाली,ती मेचीदेखि महाकालीका हुन् वा मुस्ताङ र महेन्द्रनगरका,तिनीहरूको मात्र होइन,युद्धमा होमिएकाहरूको पनि चाहना भनेको 'शान्ति' नै हो । नेपाली मात्रको यो चाहना पूर्ति गर्न सरकार र सम्पूर्ण विश्व तयार हुनैपर्छ। यसको लागि अमेरिका,भारत,ब्रिटेन सबैले नेपाललाई दिँदै आएको हतियार र सैनिक हेलिकोप्टरहरू फिर्ता लानुपर्दछ र नेपालको समस्यालाई गान्धीवादी तरिकाले समाधान गरिनुपर्दछ। यसका लागि हामी सबैले मिलेर दूतावासहरूलाई पत्राचार गर्नुपर्यो,नेपालको समस्यामाथि हस्तक्षेप गर्नैपर्ने रहेछ भने पनि त्यो हस्तक्षेप समस्यालाई बल्झाउने होइन,असम्भव तुल्याउने होइन,शान्ति ल्याउने ध्येयका निम्ति होस् ।
मुलुकमा चल्दै गरेको यो हिंसा र अशान्तिले विश्वमा 'साँग्रिला' को रुपमा चिनिएको नेपालको इज्जत र प्रतिष्ठालाई धमिल्याउँदै लगेको छ। युद्धले जनजीवनलाई नै ध्वस्त पार्ने, वर्तमानलाई मात्र होइन,पुस्तौं पुस्तासम्मलाई मानसिक वा शारीरिक रुपमा असर पार्ने निश्चित छ । त्यसकारण पनि जनताको इच्छा र चाहनाअनुरुप चलेको भन्न नथाक्ने युद्धरत दुवै पक्षले तत्काल मान्छे मार्न रोक्नु आवश्यक छ।
मुलुकका दुई ठूला शक्ति युद्धरत छन् र जनताप्रतिको उत्तरदायित्व बिर्सिराखेका छन् भने मुलुकको तेस्रो ठूलो शक्ति (आन्दोलनरत ५ पार्टी विशेषतः कांग्रेस र एमाले) पनि जनउत्तरदायीबाट विमुख छन् । ती राजनीतिक दलहरूले जनताको इच्छा,आकांक्षाअनुरुप चल्ने,राष्ट्रलाई सही बाटोमा अग्रसर गर्नेभन्दा पनि स-साना पार्टीगत र व्यक्तिगत मागहरूलाई अगाडि तेर्स्याएर समस्यालाई बल्झाउने काम गरिरहेका छन् । राजनीतिक पार्टीहरू र नेताहरूका यिनै क्रियाकलापले गर्दा जनता 'हाम्रा नेताहरू राष्ट्रलाई माया गर्दैनन्,हामीप्रति तिनीहरूको प्रेम छैन' भन्न थालिसकेका छन् ।
जनता,नेताहरू आफ्ना परिवार र आसेपासे अनि आफ्नो बैंक ब्यालेन्सलाई मात्र माया गर्ने खालका रहेछन् भन्नेमा पुगिसकेका छन् । त्यसकारण यो समय पार्टीगत र व्यक्तिगत स्वार्थमा अल्झने होइन,सबै मिलेर अगाडि बढ्ने समय हो । नेताहरूले व्यक्तिगत स्वार्थ,प्रतिष्ठा,अनियमित तरिकाले आर्जित गरिराखेको सम्पत्तिलाई त्याग गरेर देश, जनता र आफ्ना समर्थकहरूप्रति प्रेम दर्शाउने घडी हो। सबै एकीकृत हुनु अनिवार्य भैसकेको छ,देशको आर्थिक विकास गर्न जुट्नु जरुरी बनिसकेको छ। नयाँ जोश र जाँगरको आवश्यकता छ,नयाँ युवा नेताहरूले गिरिजाप्रसाद कोइरालाजस्तो नेतालाई अवकाश दिन ढिला भैसक्यो ।
राजनीतिक पार्टीका सबै कार्यकर्ता खराब र भ्रष्ट
हुन् भन्न थालियो भने यो युद्धमा कोही विजयी हुँदैनन् । र, कोही पराजित पनि बन्दैनन् । के राम्रो गरेको भए जनताले पनि राजाप्रति गौरव गर्न अवसर पाउने थिएनन् ?
राजनीतिक पार्टीभित्र थुप्रै राम्रा र इमान्दार कार्यकर्ता पनि छन् । ती कार्यकर्ता भन्छन्- नेताहरूले आफ्ना मन,मस्तिष्क र आत्मालाई मात्र सफा गरेर पुग्दैन,पार्टी स्वयं भ्रष्ट बन्न थालिसकेको कारण पार्टीलाई समेत सफा तुल्याउनुपर्दछ, पार्टीभित्र जन्मिन थालेका राष्ट्रवादविरोधी तत्व र भावनाहरूमाथि सफाई आन्दोलन चलाउनु जरुरी छ । उनीहरू भन्छन्-माओवादी समस्या त्यसै जन्मेको होइन, पार्टीका नेताहरूको गलत रवैयाकै कारण उत्पन्न भएको हो । राजनीतिक पार्टी र नेताको वर्तमान रवैया हेर्दा वाक्क भैसकेका जनता अब यो समस्या राजा र माओवादी मिलेमा मात्र सम्भव छ भन्न थालिसकेका छन् । उनीहरू भन्दैछन्-दुवैतर्फ नेपाली नै मरिराखेका छन् । मर्ने र मार्ने यो क्रमलाई रोक्नु जरुरी छ । सबैले थाहा पाइसकेकै कुरा हो, यो विजयी हुँदैनन् । मर्ने र मार्ने क्रम जारी किन ? जनसेना होस् वा सरकारी शाही सेना,के उनीहरु क्रान्तिकारी पथमा अघि बढ्न सक्दैनन् ? आफूसँग भएको हतियार बिसाउने र एकार्कालाई दिदी बहिनीको रुपमा अंकमाल गर्ने हो भने यो बेला राजाले पनि आफ्नो अधिराज्यको सुख,शान्ति, भविष्यका लागि जनतालाई नै नयाँ सँविधान बहाल गर्न दिए हुँदैन ?
यो युद्धले मुलुकमा निर्माण भैसकेका भौतिक सम्पदालाई क्षतविक्षत पार्ने मात्र होइन,भोलिका कर्णधारहरूको मनमस्तिष्कलाई पनि बर्बाद पार्ने निश्चित छ । यतिखेर हामी एक जना पनि त्यस्तो नेपालीलाई फेला पार्न सक्दैनौँ,जो द्वन्द्वबाट प्रभावित नभएको होस् । आन्तरिक संघर्षका कारण गाउँलेहरूले हाँस्न बिर्सिसकेका छन् । नेपालको उन्नति र विकास गर्न शारीरिक र मानसिक सन्तुलन हुनु जरुरी छ,तसर्थ यो द्वन्द्वको अन्त्य जरुरी छ । स्कूले केटाकेटीहरूको क्रन्दन भविष्यमा नदोहोरिउन्,आउँदा दिनमा पतिले पत्नी, पत्नीले पति,सन्तानले आमा-बा अकालमा गुमेको हेर्न नपरोस् । मेरो यो भावनामा कतिले साथ दिने हुन् कुन्नी !
टिप्पणीहरू