छठको मेला,गौरीघाटमा ५ लाख मधेशी भेला

छठको मेला,गौरीघाटमा ५ लाख मधेशी भेला

२० वर्षअघि गुह्येश्वरी,गौरीघाटमा छठ पर्व मनाउन मधेशी समुदायका पाँचदेखि दश परिवारमात्रै हुन्थे । तर,आज सोही ठाउँमा विभिन्न समुदायका ६ सय बढी परिवार छठी माताको व्रत बस्दै छठी घाटमा पूर्जाअर्चना गर्न भरिभराउ देखिए ।

पूजा आयोजक समितिका संयोजक अनिल सिंहले नदीमा सबैलाई पूजाघाट उपलब्ध गराउन नसक्दा कतिपय परिवार अन्यत्र गएको जनआस्थालाई जानकारी दिए । गौरीघाटमा मधेशी मात्र होइन पहाडी समुदायका मानिस पनि उत्तिकै सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेशको पहाडी समुदायका मानिसदेखि काठमाडौँ उपत्यकाको रैथाने नेवारहरू पनि छठ मनाउन सामेल भएको देखियो ।

यो पर्व अब मधेशी समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा बन्न पुगेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ठूलो संख्यामा ब्रतालुहरू साँझसम्मै गौरीघाट पुग्ने क्रम चलिरहेको छ । भक्तपुरदेखि पाटन हुँदै स्वयम्भूसम्मका मानिस त्यहाँ एकीकृत भएका छन् ।

छठ पूजा हेर्न बागमती नदीको किनारमा उत्तिकै भीड लागेको छ । पशुपतिनाथ मन्दिरको अग्लो स्थानबाट छठ पूजा हेर्नेको घुइंचो उस्तै थियो । राष्ट्रपति रामचन्द्र पौडेललाई मात्र आयोजकले आमन्त्रण गरेतापनि विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता पनि गौरीघाट पुगेको देखियो । एक नेताले जनआस्थासँग भने, ‘यस्तो अवसर हामीले गुमाउनु हुँदैन । यहाँ सयौंको संख्यामा चिनजान भएकाहरुसँग कुराकानी हुन पायो । यो एउटा हार्दिकता साट्ने अवसर पनि हो ।’

‘१८ वर्षअघि एक टेलिभिजनका क्यामेरा म्यानलाई छठ पूजाको दृश्य टेलिभिजनमार्फत प्रशारणका लागि अनुरोध गर्दा २० हजार रुपैयाँ लाग्ने र त्यो पनि धार्मिक कार्यक्रममा राखिदिने भनेका थिए । तर, आज तीन दिनदेखि पत्रकार र क्यामेरा म्यानले मलाई खोजी खोजी बोल्न लगाएका छन् । कति बोल्नु,म थाकिसकेँ ।’

आयोजकका अनुसार गत वर्ष यहाँ पाँच सय ५० वटा मात्र पूजास्थल राखिएकोमा यस पटक ६ सय पुर्याइएको छ । नदीको बीचमा छठी माताको मन्दिर बनाई दुवै किनारमा पूजाघाट सजाएर विभिन्न रंगीविरंगी बत्तीले मनमोहक बनाइएको छ । हजारौं भक्तजन दुवै किनारमा सहभागी छन् । त्यहाँ विभिन्न मिठाईदेखि अनेकौं खानेकुराका पसल व्यापारीहरुले राखेका छन् भने निःशुल्क पानीको व्यवस्था गरिएको छ । 

त्यहाँको भेलाले विशेष किसिमको मेलाको झल्को दिइरहेको छ । एक सहभागीले भने, ‘यो बेजोड किसिमको मेला हो ।’ पूजा समितिका संयोजकले विगत सुनाउँदै भने, ‘१८ वर्षअघि एक टेलिभिजनका क्यामेरा म्यानलाई छठ पूजाको दृश्य टेलिभिजनमार्फत प्रशारणका लागि अनुरोध गर्दा २० हजार रुपैयाँ लाग्ने र त्यो पनि धार्मिक कार्यक्रममा राखिदिने भनेका थिए । तर, आज तीन दिनदेखि पत्रकार र क्यामेरा म्यानले मलाई खोजी खोजी बोल्न लगाएका छन् । कति बोल्नु,म थाकिसकेँ ।’

संयोजक अनिल सिंहका अनुसार नेपाल टेलिकमको टावर मोनिटरले केही वर्षयता छठमा तीनदेखि पाँच लाखको उपस्थिति रहिआएको जानकारी गराएको छ । यसरी हेर्दा गौरीघाटमा मात्रै पाँच लाखसम्मले उपस्थिति जनाउने गरेको देखिन्छ । 

गौरीघाट समाज सुधार समितिका एक पदाधिकारीका अनुसार नदीको दुवै किनारमा मानिसहरुको भीडभाड यति धेरै छ कि खुट्टा टेक्ने ठाउँ छैन । त्यसैले यहाँको शान्ति सुरक्षा लागि नेपाल प्रहरीले एसपीको कमाण्डमा गस्ती खटाएको छ । सादा पोशाकमा पनि दर्जनौं प्रहरी खटिएका छन् । 

काठमाडौं महानगरपालिकाले पनि छठ पूजाका निम्ति दश वटा विशेष स्थान तोकेकोमा गौरीघाट पनि एक हो । त्यहाँ महानगरले दर्जनौं नगर प्रहरी तैनाथ गरेको छ भने निःशुल्क स्वास्थ्य शिविर चलाएको छ । अन्य स्वास्थ्य संस्थाले पनि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । र, एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएको छ ।

पूजामा दियो-बत्तीले झकीझकाउ बनाइएको छ भने मैथिली, भोजपुरीलगायतका छठ गीत घन्काएर वातावरणलाई झन् उल्लासमय बनाइएको छ । यसले यहाँको वातावरण निकै आनन्दमय बनेको छ । पूजा गर्नेहरु दण्ड प्रणाम गर्दै आइरहेको देखिन्छ भने पूजाका सामग्रीहरु सजाएर घाटमा दीपावलीझैं बनाइएको छ । 

सामाजिक तथा धार्मिक सद्भाव र एकता मजबुत बनाउन छठ पर्वको विशेष महत्व रहँदै आएको छ । यसपटक गैरिघाटमा देखिएको दृश्यले पहाडी र मधेसीबीचको दूरी घटाउदै लगेको जोसुकैले महसुस गर्न सक्छ । आज अस्ताउँदो सूर्यको पूजा गरेर शुरु भएको छठ भोलि बिहान उदाउँदो सूर्यको आराधनापछि समापन हुनेछ ।

टिप्पणीहरू