जताततै हिमपात, जिल्ला प्रशासन–प्रहरीको अनुरोध

जताततै हिमपात, जिल्ला प्रशासन–प्रहरीको अनुरोध

भारतको बंगाल खाडी र अरब सागरमा बनेको दुई न्यून चापीय प्रणालीको दोहोरो प्रभाव नेपालमा पनि देखिएको छ। हिमाली तथा उच्च पहाडी भेगमा गएरातिदेखि नै वर्षा र हिमपात भएको छ। सोही कारण पदयात्रा तथा हिमाल आरोहणमा धमाधम रोक लगाउन थालिएको छ।

मनाङमा हिमपातसँगै स्थानीय प्रशासनले पदयात्रा र हिमाल आरोहणमा रोक लगाएको छ। जिल्लाको तल्लो भेगमा निरन्तर वर्षा र उच्च भेगमा भारी हिमपात भइरहेको भन्दै सिडिओ कार्यालयले विज्ञप्ति जारी गर्दै पर्यटक र पर्वतारोहीलाई पदयात्रा तथा आरोहण नगर्न अनुरोध गरेको छ। साथै, उनीहरुलाई सुरक्षित स्थानमा बस्न र कुनै समस्या आएमा तत्काल प्रशासनलाई जानकारी गराउन भनिएको छ।

मुस्ताङ र म्याग्दी जिल्लामा पनि पदयात्रा र हिमाल आरोहण नगर्न प्रशासनले आग्रह गरेको छ। मुस्ताङ–डोल्पा याकखर्क, मुस्ताङ–मनाङ थोरङला पास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दी धौलागिरी पदमार्गलगायत उच्च हिमाली क्षेत्रमा हल्कादेखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ।

अन्य भागमा पनि हिमपात र वर्षाको सम्भावना रहेकोल सम्बन्धित जिल्ला प्रशासन र प्रहरी कार्यालयले पर्यटक र तीर्थयात्रीहरुलाई मौसम पूर्वानुमान अनुसार मात्र यात्रा गर्न सल्लाह दिएको छ। म्याग्दी प्रशासनले आगामी शुक्रबारसम्म अन्नपूर्ण बेसक्यापतर्फ जाने पदयात्रामा रोक लगाएको छ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना औंल्याएको छ ।

टिप्पणीहरू