विध्वंशको क्षतिपूर्ति दावी उठ्यो कति
गत भदौ २४ गतेको जेन जी विध्वंशमा गरिएको आगजनी र हुलदंगाबाट ठूलो भौतिक क्षति भएको छ । विशेषगरी उद्योग,कलकारखाना,होटल व्यवसाय र व्यावसायिक कम्पनीहरुले क्षतिवापत ‘इन्सुरेन्स क्लेम’ को प्रक्रिया थालिसकेका छन् ।
नेपाल सरकारको स्वामित्व रहेको नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडमा उक्त घटनासँग सम्बन्धित दाबीलाई इन्स्योरेन्स कम्पनीले पठाउने क्रम जारी छ । यस्तो भुक्तानी रकम रिइन्सुरेन्स कम्पनीबाट सम्बन्धित बिमा कम्पनीमार्फत् क्षति व्यहोरेको कम्पनीले प्राप्त गर्ने छ । अधिकांश रिइन्स्योरेन्सको रकम रिइन्स्योरेन्स कम्पनीले पनि विदेशमा गरेको बिमाबाट पाएपछि मात्रै आन्तरिक भुक्तानीको प्रक्रिया अघि बढ्ने हो ।
स्रोतका अनुसार भदौ २४ गतेको विध्वंशमा निजी क्षेत्रबाट हालसम्म कूल २१ अर्ब रुपैयाँको दाबी गरिएको छ । तर, प्रचलित नियम र कानुनअनुसार बढीमा १३ अर्ब रुपैयाँ भुक्तानी हुनसक्ने अवस्था देखिन्छ । यसको प्रमुख कारण बिमाभित्र रहेको पुनर्बिमाको संरचना भनिन्छ । स्थानीय रिइन्स्योरेन्स कम्पनीले दाबीको बढीमा १५ प्रतिशत रकम पेश्कीवापत दिने प्रचलन छ । त्यो रकम भने माग गरेका क्षतिग्रस्त कम्पनीले पाइसकेका छन् ।
अधिकांश पुनर्बिमा कम्पनीले जोखिम कम गर्न विदेशी कम्पनीहरूसँग पनि त्यस्तै पुनर्बिमा गर्ने प्रचलन छ । विशेषगरी नेपालको पुनर्बिमा कम्पनीले स्वीट्जरल्याण्ड, भारत, सिंगापुर, अमेरिका जस्ता देशका कम्पनीसँग पुनर्बिमा गरेको देखिन्छ । भदौ २४ को घटनासँग सम्बन्धित दाबी रकमका लागि विदेशी रिइन्सुरेन्स कम्पनीबाट रकम प्राप्त भइसकेको अवस्था देखिँदैन । नेपालमा १३ वटा गैरजीवन बिमा र १२ वटा जीवन बिमा कम्पनी छन् । तीमध्ये दुई वटा भारतीय बिमा कम्पनी हुन् ।
विशेषगरी जलाइएको हिल्टन होटलको सम्बन्धमा क्षतिमा नौ अर्ब दाबी गरिएको स्रोतको भनाई छ । तर, पुनर्बिमाको विद्यमान नियमानुसार उक्त होटलले वास्तविक क्षतिग्रस्त संरचना र ऋण रकमको आधारमा कम्तीमा साढे २ र बढीमा ३ अर्बसम्म पाउने अनुमान गर्न सकिन्छ । विश्वमा बिमा प्रणालीले ‘अधिक दाबी’ रोक्न र जोखिम न्यूनीकरणका लागि संरचनामा पुगेको क्षतिलाई विभिन्न कोणबाट विश्लेषण गर्ने गरिएको छ । हिल्टनको हकमा बैंकबाट लिएको ऋण रकम एउटा आधार, उसको भौतिक संरचनामा आन्तरिक तथा वाह्य सजावट बाहेकमा भएको क्षतिको विश्लेषण हुने अवस्था छ ।
तीन अर्ब ऋण लिएको उक्त होटलले गरेको नौ अर्बको दाबी नेपालमा रहेको भारतीय कम्पनी ओरियन्टल इन्स्योरेन्ससँग गरेको हो । ओरियन्टल इन्स्योरेन्स भारतीय कम्पनी हो । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २४ को क्षतिमा गरिएको माग दाबीसँग सम्बन्धित बिमाका लागि सर्भेयर नियुक्त गर्ने प्रक्रिया अघि बढाएको बुझिएको छ ।
टिप्पणीहरू