सनाखतमा लापरबाहीको हद, अरूलाई बुझाइएको छोरीको शव खोज्दै अभिभावक

सनाखतमा लापरबाहीको हद, अरूलाई बुझाइएको छोरीको शव खोज्दै अभिभावक

सडक दुर्घटनामा निधन भएकी आफ्नी १३ वर्षीया छोरीको शव खोज्दै एक दम्पती एक सातादेखि जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु धाइरहेका छन् । भारतको सिद्धार्थनगर बर्डपुर घर भई मायादेवी–१ पकडीमा मजदूरी गर्दै आएका हरिचन्द्र मल्लाहले दुर्घटनामा मृत्यु भएकी छोरीको शवको खोजी र सवारी चालकविरुद्ध जाहेरी दिन प्रहरी कार्यालय धाउन थालेको एक सातासम्म पनि जाहेरी दर्ता नगरिएको दुःखेसो पोखेका छन् ।

प्रहरीले उल्टै मल्लाह दम्पतीलाई ‘तिम्रो छोरीको शव उनकै श्रीमानलाई जिम्मा लगाइयो’ भन्दै कार्यालयबाट निकालेको आरोप छ। तर पीडित मल्लाहले आफ्नी १३ वर्षीया छोरी खुशीको विवाह नै नभएको र प्रहरीले घटनाको जाँचबुझ नगरी हतारमा अन्य व्यक्तिलाई शव बुझाएको पीडा सुनाएका छन् ।

यस्तो छ घटना

पकडीका स्थानीय तालतलैयामा सिंगडा खेती गर्दै आएका मल्लाह कात्तिक १ गते धान स्याहार्न भारत सिद्धार्थनगरस्थित घरमा श्रीमतीसहित गएका थिए। आफ्ना घरबेटी पर्शुराम तेलीलाई १३ वर्षीया छोरी खुशीको रेखदेखको जिम्मा लगाएर उनीहरू गएका थिए।

सोही क्रममा कात्तिक २ गते साँझ करिब ७ बजे लु.१ क ५७८० नम्बरको ट्रकको ठक्करबाट पकडीमै बालिकाको मृत्यु भयो । उक्त घटनाको जानकारी बेलैमा नभएका उनीहरू कात्तिक ८ गते फर्केपछि मात्रै थाहा पाएका हुन् ।

दुर्घटनापछि घरबेटीका छोरा पिन्टु तेलीले मृतक आफ्नी श्रीमती भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले थप अनुसन्धान नगरी सोझै शव पिन्टुलाई जिम्मा लगाइदियो। पिन्टुले मृतकको शव के गरे भन्ने अझै नखुलेको मृतकका बाबु हरिचन्द्रले बताए।

‘मेरी छोरीको विवाह नै भएको थिएन। प्रहरीले नक्कली अभिभावक खडा गरेर हाम्रो दुःख बढायो,’ उनले भने। सवारी दुर्घटनामा क्षतिपूर्ति पाउने लोभमा पिन्टु तेलीले नक्कली श्रीमान् बनेको स्थानीयको अनुमान छ । 

गैरजिम्मेवार प्रहरी

सवारी दुर्घटनामा मृतक र उनको परिवारको पूर्ण पहिचान गरेर मात्र पोस्टमार्टम, जाहेरी लिने र शव परिवारलाई बुझाउने जिम्मेवारी प्रहरीको हो । तर उक्त घटनामा कपिलवस्तु प्रहरीले हतारमा शव बुझाएको देखिन्छ।

नाता खुल्ने कुनै पनि कागजात बिना जिल्ला प्रहरी कार्यालय प्रमुखका एसपी सन्तोष आचार्यको निर्देशनमा मृतककी श्रीमान् दाबी गरिरहेका पिन्टुलाई बालिकाको शव बुझाइएको प्रहरी स्रोत बताउँछ। ‘श्रीमान् दाबी गर्ने पिन्टुसँग नाता प्रमाणितको कुनै कागज थिएन, तर माथिबाट दबाब आएपछि शव बुझाइयो,’ एक प्रहरी अधिकारीले नाम नखुलाउने शर्तमा भने।

त्यस्तो अवस्थामा प्रहरीले गाउँलेहरूसँग सनाखत गर्ने वा मृतक विवाहित भए उनका माइती पक्षसँग समन्वय गर्नुपर्नेमा त्यसो नगरेको देखिन्छ। उता, मृतक बालिकाका बाबुआमाले प्रहरी जाहेरी लिन नमानेपछि हुलाकमार्फत् पनि जाहेरी पठाएका थिए, तर प्रहरीले त्यो समेत दर्ता नगरेको र स्वयम् कार्यालय पुग्दा पनि कुनै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ।

‘मेरी छोरीको लाश कहाँ छ—जलाइदिए कि गाडिसके ? कि फालिदिए ? कम्तीमा अन्तिम पटक हेर्न पाए हुन्थ्यो,’ भन्दै आमाले बिलौना गरेकी छन् । तर प्रहरी यसबारे केही बोल्न चाहँदैन। मुद्दा हेर्दै आएका प्रहरी नायव निरीक्षक सुशिल केसीले शव श्रीमानलाई बुझाएको दाबी गरेका छन् । आवश्यक प्रमाण खुल्ने कागज नरहेको उनले स्वीकारे।

टिप्पणीहरू