कुलबहादुरको नाम, नेपाल वायुसेवा जाम
अन्तरिम सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छान्ने निर्णय गरेको भनिए पनि औपचारिक रुपमा उक्त निर्णय बाहिरिएको छैन । त्यस्तो अवस्थामा छनौट समितिमा राखिने भनिएका विज्ञ सदस्यको नामलाई लिएर केहीले अहिले नै आश्चर्य प्रकट गरेका छन् ।
समितिमा क्याप्टेन कुलबहादुर लिम्बूलाई राखिने स्रोतको दाबी छ । जबकी उनी एक समय निगमको महाप्रबन्धक हुँदा तालुक अड्डाका मन्त्रीसँगको झगडाका कारण मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको थियो ।
दलीय व्यवस्थामा अरु झैँ लिम्बू पछिल्लो समय आफ्नो रोजाईको राष्ट्रिय मातृभूमि पार्टीमा वरिष्ठ नेता छन् । सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म राजनीतिक रुपमै प्रस्तुत गरिरहन्छन् । यसैकारण उनको पछिल्लो हैसियत ‘स्वतन्त्र विज्ञ’ को हुन गाह्रो पर्ने देखिन्छ ।

उनी २०७६ चैतमा नेपालगञ्जमा वाई–१२ विमान दुर्घटना हुँदा विमानका क्याप्टेन थिए । उक्त दुर्घटनामा मानवीय त्रुटी ठहराउँदै नागरिक उड्डयन प्राधिकरणले एक्लै उडानमा रोक लगाएको र निगमले पनि करार सम्झौता भंग गरेको थियोे ।
त्यसपछि विभिन्न आर्थिक सुविधाको माग गर्दै अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन छ । यसले पनि ‘कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट’ देखाउने विज्ञहरूको टिप्पणी छ । एकातिर निगम ऐनमा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने व्यवस्था नरहेको र अर्कोतर्फ समितिमा स्वतन्त्र हुन नसकेका “स्वतन्त्र“ व्यक्ति राख्न खोजिएको भन्ने खबरले राम्रै प्रचार पाएको हो ।

टिप्पणीहरू