भोलि शिख धर्मगुरुलाई सम्झने पालो
कात्तिक १९ गते अर्थात् भोलि बुधबार शिख धर्मालम्बीहरूले गुरु नानकको ५५६औँ जन्मजयन्ती धुमधामका साथ श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा सरकारले शिख धर्मालम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ ।
हरेक वर्ष कात्तिक पूर्णिमाका दिन काठमाडौँ उपत्यकासहित वीरगन्ज, नेपालगन्ज,विराटनगर,भैरहवालगायत प्रमुख शहरहरूमा रहेका गुरुद्वारामा यो उत्सव मनाउने गरिन्छ । काठमाडौँको थापाथलीस्थित गुरुद्वारामा करिब १५ सय श्रद्धालु सहभागी हुने अनुमान आयोजक संस्थाले गरेको छ । त्यसकाे सम्पुर्ण तयारीमा अध्यक्ष प्रितम सिंह उनका सहयाेगी हरपाल सिंह लगायत अन्य सरदारहरू जुटेका छन् ।
विगतका वर्षमा अन्य धर्मालम्बीसमेत प्रार्थनामा सहभागी हुने गरेकाले यो संख्या बढ्नसक्ने थापाथली गुरुद्वाराका अध्यक्ष सरदार प्रितम सिंहले जानकारी दिए । सहभागीहरूलाई तीन दिनसम्म भोजन (लङ्गर) मा पनि उपस्थित हुन आमन्त्रण गरिएको छ ।
शिखहरू आफूलाई सरदार भन्न रुचाउँछन् । थापाथली गुरुद्वाराका वयोवृद्ध अध्यक्ष प्रितमसिंहका अनुसार सरदार भनेकै सेवा हो । संसारभरका सरदारहरु जुनसुकै ठाउँमा पनि दैवी-प्रकोप लगायत अन्य आपतविपतका बेला सम्पूर्ण मानवजातीले गास, बास र कपास अनिवार्य पाउनुपर्छ भन्ने ध्येयले सेवामा लाग्ने गरेको बताइन्छ ।
०७२ सालको महाभूकम्पका बेला खाद्यान्न, लत्ताकपडासहित टहरा निर्माणमा सरदारहरूको विषेश योगदान रहेको थियो । भारत, बेलायत, क्यानडा लगायत अन्य युरोपियन मुलुकबाट शिखहरू राहत लिएर काठमाडौँ आइपुगेका थिए । यसका साथै अहिले पनि थापाथलीको गुरुद्वाराको प्रार्थनामा सहभागी हरेकले लङ्गरमा भाग लिँदै आएका छन् ।
बुधबारको समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तवको विशेष उपस्थिति हुने जनाइएको छ । त्यस्तै, सर्वसाधारणको पनि अपेक्षित उपस्थिति रहने गुरुद्वाराले विश्वास लिएको छ ।
मल्लकालमा गुरु नानक नेपाल आएका र बालाजुस्थित मठमा ६ महिना बसेको इतिहास छ । त्यतिबेलाको गुरु नानकको हस्तलिखित ग्रन्थ अहिले पनि बालाजुकै मठमै संरक्षण गरिएको छ । त्यतिबेला मल्ल राजाहरूबाट पाएको दुई सय रोपनी जग्गा अतिक्रमणमा पर्दै अहिले ३२ रोपनीमात्र बाँकी छ । तर, उक्त जग्गालाई गुठीमा लगिएपछि त्यसविरुद्ध सरदारहरू कानुनी लडाईका लागि सर्वोच्च अदालत पुगेका छन् ।
जग्गा प्राप्त भएको खण्डमा त्यहाँ नि:शुल्क अस्पताल, वृद्धाश्रम, शिव मन्दिर र विशाल गुरुद्वारा बनाउने योजना उनीहरुको छ । त्यसले विश्वभरका शिख पर्यटक घुम्न आउने र नेपालको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने सरदारहरूको विश्वास छ । यसका लागि भारतको मुम्बईमा बस्दै आएका एक शिख धनाढ्य गुरिन्दर सिंह बाबा सरदारले ३५ करोड बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइएको छ ।
अध्यक्ष प्रितम सिंहले नानक जयन्तीको पूर्वसन्ध्यामा सम्पूर्ण नेपालीको सुख, शान्ति र प्रगतिको लागि प्रार्थना गरिने जानकारी दिए ।
टिप्पणीहरू