खोइ, सुःख, शान्ति र समृद्धि?
व्यवस्था पञ्चायत भए पनि विद्यार्थीकालमा सुन्दर, शान्त नेपालको गान गाइयो । बहुदल र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइयो, तर सुःख, शान्ति र समृद्धि भाषणमै सीमित रह्यो। राणाशासनका कारण देशमा विकास नभएको पाठ घोकियो । राजा देशका लागि खास्सा पात्र भएको लेख र पाठ पढियो।
राणाकालका कमजोरी केलाइयो, काँग्रेस, कम्युनिष्ट छाडेर मातृकाप्रसाद कोइराला, केशरजंग रायमाझी, तुलसी गिरी, प्रभुनारायण चौधरी, विश्वबन्धु थापा लगायत त्यसबेलाका चर्चित पात्रहरू सुधारिएको पञ्चायती व्यवस्थामा समाहित भए। पञ्चायत र राजाबिना देशमा परिवर्तन सम्भव छैन भन्ने भाष्य निर्माण भयो।
चौतारीमा राजा, रानी भेटिए... शैलीमा गीत गाइयो, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ... भन्ने जबरजस्त नारा लगाइयो। निर्दलीय पञ्चायतकै पक्षमा २०३६ मा मत देखाइयो। २०४६ मा पञ्चायत गयो, राजासहित बहुदल ल्याइयो, काँग्रेस–कम्युनिष्ट–पञ्च नेताहरूकै अगुवाईमा शासन चल्यो, सरकार बन्यो।
परिवर्तन शासक फेर्नेमा भयो, तात्विक रूपमा शासन शैलीमा देखिएन, भेटिएन। यसबीच २०५२ फागुन १ गतेबाट जनयुद्धको नाममा माओवादीले अभियान शुरु गर्यो। २०६२–६३ मा माओवादीसहित काँग्रेस, एमालेलगायतको सहभागितामा भएको जनआन्दोलनबाट राजतन्त्रलाई बिदा गरी गणतन्त्र स्थापना भयो।
अबचाँहि सर्वसाधारण नेपालीले देशमै गरिखान पाउने भए, शान्ति–सुरक्षा हुने भयो। शिक्षा, स्वास्थ्यमा सर्वसाधारणको पहुँचमा रहने भयो। बिचौलियाको अन्त्य हुने भन्ने जनआशा थियो। संक्षेपमा भन्नुपर्दा, रैतीबाट प्रजा र जनता भएका नेपाली अब अधिकारसम्पन्न नागरिकमा रुपान्तरण भए भन्ने भाषण दलका अगुवा नेताले गरे।
नागरिक अचम्म परे, लौ अब ‘देशमा सुःख, शान्ति हुने भयो, देश समृद्ध बन्ने भयो, देशमै गरिखाने माहौल बन्ने भयो’ भनेर। समग्रमा विकासका नाममा भौतिक रूपमा सडक र केही संरचना बने, हजारदेखि लाख–करोडसम्म बजेट विनियोजन भयो, वाक तथा प्रकाशनमा केही खुकुलोपनको वातावरण बन्यो, तर आम, अर्थात् गरिखाने नेपालीलाई परिवर्तनले छोएन।
व्यवस्था परिवर्तन भएअनुसार देश अनि नागरिकको अवस्था परिवर्तन भएन। नागरिकले आशा गरेको सुःख, शान्ति र समृद्धि आएन। सन्तानलाई विदेश नपठाई घरगृहस्थी चलेन। सुःख, शान्ति र समृद्धि आएन भन्नेमा कतिलाई लाग्न सक्छ, ‘पूर्वाग्राही भयो, पश्चगामी कुरा गर्यो’ भनेर। यदि सुःख, शान्ति र समृद्धि आएको भए हरेक दिन सरदर तीन हजार राहदानी किन जारी गर्नुपथ्र्यो?
सुन्दर, शीतल देशका युवा जनशक्तिलाई देशमै उद्यम–व्यवसाय गर्ने वातावरण र अवसर सिर्जना गर्न कसले छेकेको? पटक–पटक बहुमतको अनि दुई तिहाइको सरकार बनेकै थियो। समय पुगेन वा दृष्टि पुगेन वा आवश्यक ठानिएन? अरु कुरा छाडौँ, संविधानमा आधारभूत आवश्यकता घोषित शिक्षा, स्वास्थ्यलाई किन व्यापारको कर्म बनाइयो?
उत्पादन गर्ने किसान र उपभोग सधैँ त्रासमा अनि बिचौलिया मालामाल हुने बजार नियन्त्रणमा किन सरकार चुक्यो वा चुप बसे? शासकीय स्वरुपको मर्म आत्मसात गर्नुसट्टा किन दास उत्पादन शैलीको प्रवद्र्धन गरियो? केही संख्यामा दास वा समर्थक जत्था तयार गरेर सब ठिक छ भन्ने रिपोर्टमा मख्ख पर्दा वा ढुक्क हुँदा नै २०८२ भदौ २३–२४ को विद्रोह र जनधनको क्षति भएको होइन र?
कमी–कमजोरी केलाएर, नागरिकस्तरको कुरा सुनेर शासन गर्नेभन्दा भारद्वार, आसेपासे र जि–हजुररियाको घेरामा ढुक्क भएकै कारण शासक वा नेतृत्वकर्ता अपदस्त हुनुपरेको उदाहरण खोज्न २००७ देखि २०८२ सम्मका घटनाक्रम अध्ययन गरे हुन्छ। सत्ताका लागि आपसमा मिल्ने, आवश्यक पर्दा आफैंले प्रतिगामी आरोप लगाएको पात्रसँग पनि सत्ता सहयात्रा गर्ने प्रवृत्तिबाट को टाढा रहे?
बहुदलमा समेत सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा काँग्रेस–कम्युनिष्ट सरकारमा सहभागी भएकै हुन्। गिरिजा, सुशील, प्रचण्ड, माधव, केपी हुन वा जेनजी विद्रोहपछि शासनको बागडोर सम्हालेकी सुशीला जनमन नबुझी चाकरीवाज, आसेपासे र समर्थकको मात्र भर परेपछि आम नागरिकले देखेको सुःख, शान्ति र समृद्धिको सपना अधुरै रह्यो।
सत्तामा पुगेपछि देश र नागरिक हितका पक्षमा कति बहस–विवाद भयो दलभित्र, संसदभित्र वा नेताबीच? शासनबारे शासितहरूको अभिमतबारे कति बुझियो? आफूले शुरु गरेका काम, योजनाबाट कति लाभान्वित भए वा प्रताडित भए? समीक्षा गरियो त? शासकहरूलाई उन्मत्त बन्न दिने हामी सञ्चारकर्मी–पत्रकार जगत पनि दोषी छौँ। धेरै थोरै अलग कुरा हो, तर केही हदसम्म भाषणमा मख्ख परेर हरेकपटक उनै नेता चुन्ने मतदाता पनि बेथितिको भागिदार हुन्।
पुष्पलालका नाममा होस् वा बीपीका नाममा राजनीति गर्नेहरूले दृष्टिकोणलाई वास्तविकतामा रुपान्तरण गर्नसक्ने खुबी देख्न पाएनन्। राणा र राजालाई सरापेर, दोषारोपण गरेर मञ्चमा भाषण गर्नेहरूले ताली पाए, तर उनीहरूले कृष्णप्रसाद, मनमोहन, मदन, गणेशमानले जति पनि सुकर्म उदाहरण पेश गर्न किन सकेनन् ? के ले रोक्यो — भारत, चीन, अमेरिका वा अन्य अदृश्य शक्ति केन्द्रले?
जबसम्म राजनीतिलाई समाज सेवा वा सामाजिक कर्म बनाइँदैन, केवल कमाउने र सातपुस्ता रमाउने पेसा ठानिन्छ, बनाइन्छ, तबसम्म आम नेपालीले अनुभूति गर्ने खालको सुःख, शान्ति र समृद्धि सम्भव देखिँदैन।
टिप्पणीहरू