अस्तिबाट बेपत्ता विद्यार्थी भेटिए
कलेजबाट एकाएक बेपत्ता भएका विद्यार्थी भेटिएका छन् । प्रहरी वृत्त, कीर्तिपुरबाट खटिएको टोलीले १७ वर्षीय कमल लुहारको उद्दार गरेको छ । ललितपुरको बालकुमारीस्थित निष्ट कलेजमा ११ कक्षामा अध्ययनरत कमल अस्ति बिहान ५ बजे ड्रेसमा धोबिघाटस्थित डेराबाट निस्किएका थिए ।
कलेजबाट छुट्टी भएपछि एकाएक सम्पर्कविहिन भएका उनकी गर्लफ्रेण्डको ह्वाट्सएपमा उनकै नम्बरबाट हिजो ‘पैसा दिन्छन् कि तेरो मान्छेलाई मारिदिऊँ’ भन्दै धम्कीपूर्ण म्यासेज आयो । म्यासेजसँगै कमलको अण्डरवेयर मात्र लगाएको तस्बिर पनि थियो । त्यसपछि केटीको भिनाजु अशोक विकले जिल्ला प्रहरी परिसर, ललितपुरमा उनी हराएको जाहेरी दिएका हुन् ।
खोजतलास गर्ने क्रममा उनको लोकेशन कीर्तिपुरको पाँगा देखिएको थियो । लोकेशनका आधारमा प्रहरी वृत्त, कीर्तिपुरको टोली खटिएकोमा प्रहरी प्रभाग बल्खुबाट डेढ किलोमिटर पूर्वतर्फ आज बिहान उनलाई भेटाइएको हो । घटनामाथि अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको छ ।
टिप्पणीहरू