श्रमिककै हातबाट ‘हाङयुगका कविताहरू’

श्रमिककै हातबाट ‘हाङयुगका कविताहरू’

सृजनशील अराजकताका अभियन्ता तथा लेखक हाङयुग अज्ञातको नयाँ कविता सङ्ग्रह ‘हाङयुगका कविताहरू’ झापाको दमकमा लोकार्पण गरिएको छ।

कविले आफ्नो नयाँ कृति प्रेसका श्रमिककै हातबाट विमोचन गरेर लोकार्पणलाई विशेष बनाएका छन् । उनले भने,
“श्रमिकहरूको सम्मानका खातिर मैले यो पुस्तक स्रस्टा अफसेट प्रेसमै विमोचन गरेको हुँ । लेखकले लेख्दैमा मात्र किताब पूर्ण हुँदैन,यसमा प्रेसका सम्पूर्ण श्रमिकहरूको हात रहन्छ।”

अज्ञातका अनुसार,यो श्रमप्रतिको सम्मान र सृजनाको यात्रामा संलग्न सबैप्रति आभार प्रकट गर्ने नयाँ ढङ्गको प्रयास हो।

सङ्ग्रहमा आन्दोलन,प्रेम,दार्शनिक चिन्तन,सामाजिक पहिचान र अस्तित्वका विषयवस्तु समेटिएका छन् । करिब ९० वटा कविता अटाएको कृतिको प्रकाशक अमेरिका निवासी पर्वतारोही तथा व्यवसायी जुनिता सुब्बा मिश्र हुन् ।

इलाममा जन्मेका कवि अज्ञात नेपाली साहित्यमा विद्रोही धारका सशक्त प्रतिनिधि मानिन्छन् । 

सन् २०१५ मा प्रकाशित ‘आधा रातको ताङ्सिङ’ पछि करिब १० वर्षको अन्तरालमा अज्ञातको यो कृति बजारमा आएको हो । हाल उनी आफ्नै माटो इलाम बसेर कविता–खेतीमा रमाइरहेका छन् ।

टिप्पणीहरू