घरबेटीले खाली गराए एमाले कार्यालय

घरबेटीले खाली गराए एमाले कार्यालय

‘ओरालो लागेको मृगलाई बाच्छाले समेत खेद्छ’ भनेझैँ एमालेमाथि चौतर्फी हमला शुरु भएको छ । भाडामा रहेको कार्यालय घरधनीले खाली गर्न दबाब दिन थालेका छन् । यस्तै निशानामा परेको छ, उपत्यका विशेष प्रदेशको कार्यालय । लगभग १ वर्षअघि (२०८१ सालको पुषमा) एमाले उपत्यका विशेष प्रदेश कार्यालय बागबजारबाट बागमती करिडोर बुद्धनगरमा सारेको थियो ।

त्यहाँस्थित हरि भवनको २ तला भाडामा लिइएको थियो । तेश्रो र चौथो तलामा समान १६०० स्क्वायर फुटमध्ये १२०० स्क्वायर फुटमा ३ कोठा र एउटा सानो किचन छुटइएको थियो । उपत्यका विशेष प्रदेशको २ कोठा र अर्को एउटामा युवा विद्यार्थी विशेषको कार्यालय थियो । त्यो तलाको ६० हजार भाडा २ कमिटी मिलेर तिर्ने गरेको प्रदेश कमिटीका एक सदस्यले बताए । 

तेश्रो तला प्रदेश मातहत पेशागत विशेष जिल्ला कमिटीले लिएको छ । सो तलामा २ कोठा, एउटा सानो किचन र लगभग १०० जना अट्ने हलसमेत छ । पेशागतले पनि भाडा ६० हजार नै तिर्छ । सो तला पनि केही दिनमा खाली हुँदै छ । भाद्र २३ र २४ को जेनजी आन्दोलनमा धेरै भौतिक सम्पत्तिको क्षति भयो । दलका कार्यालयहरू धेरै तोडफोड भए । त्यही देखेर पार्टी कार्यालय भाडामा दिएका घरधनी आत्तिएका हुन् ।

कार्यालय नहुनुको पीडा कस्तो हुन्छ भन्ने कुरा युवा विद्यार्थी विशेष जिल्ला कमिटीलाई सोध्दा थाहा हुन्छ । गत शुक्रबार सचिवालयको बैठक राजधानीको एक सरकारी क्याम्पसमा सम्पन्न भएको थियो । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि हरि भवनका घरधनीले उपत्यका विशेष प्रदेशका पदाधिकारी र युवा विद्यार्थी विशेष जिल्ला कमिटी माझ पहिले मौखिक र भोलिपल्ट ३५ दिने सूचनासहित लिखित पत्र दिएर घर खाली गर्न अनुरोध गरे । घर धनीले “हजुर, मेरो त सम्पति भनेकै यत्ति हो, बाच्ने आधार नै यही हो ।

अस्ति धन्न घर केही भएन, प्लिज मेरो घर खाली गरिदिनु ल, बरु १ महिनाको भाडा मिनाहा गरिदिन्छु ” भनेर याचना गरेका थिए । यसो भनेको भोलिपल्ट लिखित निवेदन नै दिएपछि त घर खाली गर्नुको विकल्प नै रहेन– प्रदेश कमिटीका एक सदस्यले बताए । घरधनीले ४ दिनअघि चौथो तला भाडामा भन्ने सूचना टाँसेका थिए । मंगलबार बुझ्दा उक्त तला भाडामा लागिसकेको र तेश्रो तला पनि यही हप्ता खाली हुने जानकारी दिए ।

उनका अनुसार बत्ती, पानीको मासिकका अलावा सोको कर स्वयं भाडावालले नै तिर्नुपर्ने नियम छ । उक्त भवनको अण्डरग्राउण्ड पार्किङ, भुईं तलामा देशी चिया, दोश्रो तलामा ल फर्म र पाँचौ तलामा फिल्मकर्र्मीहरूको कार्यालय छ । 
 

टिप्पणीहरू