१३८ को सूची र संख्या थपिएकोबारे प्रचण्डको प्रष्टीकरण

१३८ को सूची र संख्या थपिएकोबारे प्रचण्डको प्रष्टीकरण

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति गठनबारे भ्रम उत्पन्न भएको भन्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रष्टीकरण दिएको छ ।

दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाएको सदस्यहरूको सूचीलाई लिएर कार्यकर्तामै अन्ल्योलता देखिएपछि प्रचण्डको सचिवालयले स्पष्ट पारेको हो । केन्द्रीय कार्यालयका तर्फबाट गोविन्द आचार्यले वक्तव्य सार्वजनिक गर्दै कात्तिक ३० गतेभित्र दल दर्तागरी प्रमाणपत्र लिनुपर्ने भएकाले विवरण बुझाए पनि केन्द्रीय कमिटी टुंगो लाग्न बाँकी रहेको जानकारी दिए ।

नेकपाले आयोगमा पेश गरेको उक्त सूचीमा संयोजक र सहसंयोजकसहित १३८ जनाको नाम रहेको छ । सूचीमा पछिल्लो पटक एकतामा समाहित भएका भीम रावलसहितका नेताहरूको नाम समावेश छैन । जसलाई लिएर नेकपाका कार्यकर्तासहित आमरूपमा पनि चर्चा र टिप्पणी भैरहेको छ ।

'सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनको प्रयोजनार्थ यही ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने सूचना निर्वाचन आयोगले जारी गरेको थियो', वक्तव्यमा भनिएको छ, 'दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।'

निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको जानकारी गराइएको छ । त्यस्तै, एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भै हस्ताक्षर गरेका १३ जना महिला केन्द्रीय सदस्यहरूको नाम त्यही सूचीमा थपेर कोटा पुर्याइएको पनि स्पष्ट पारिएको छ ।

संयोजक र सह–संयोजक बाहेकका सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने र त्यसका लागि अहिले गृहकार्य भइरहेको जनाइएको छ । एकीकृत पार्टीको केन्द्रीय समितिसहितका सबै संरचना यही प्रक्रियाअनुसार टुंगो लाग्ने वक्तव्यमा उल्लेख छ ।

'यो कुनै अलग संरचना होइन । बिधान बमोजिम संरचना बनाउन बाँकी ', वक्तव्यमा भनिएको छ, 'यसैले आयोगमा पेश गरिएको सूचीबारेका कुनै पनि भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा हार्दिक अनुरोध छ ।'
 

टिप्पणीहरू