विध्वंसमा यता मात्रै होइन, उता पनि लुकाइएको थियो दमकल
भदौ २४ गतेको जेनजी विध्वंसमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले आगो निभाउन दमकल पठाएनन् । बरु दमकल लुकाएर उल्टै विध्वंसकारीहरूलाई पानी बाँड्न लगाएका थिए । तर छिमेकी ललितपुर महानगरपालिकाले भने काठमाडौंमा दमकल पठाएर धेरै ठाउँमा आगो निभाएको थियो ।
आन्दोलनकै समयमा आगो निभाउन निस्किँदा ललितपुर महानगरको महँगो आधुनिक एउटा दमकल आन्दोलनकारीले जलाएर ध्वस्त बनाइदिँदा महानगरले त्यसको क्षति व्यहोर्नुपर्यो। अहिले ललितपुरले फेरि उस्तै आधुनिक दमकल तुरुन्तै खरिद गर्ने निर्णय गरिसकेको छ।
यो भयो राजधानी उपत्यकाको सन्दर्भ । तर कोशी प्रदेशकै एकमात्र महानगर विराटनगरले पनि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै महानगरपालिकामा दनदनी आगो लागिरहँदा दमकल विभाग चुपचाप लुकाएर बसेको थियो। विराटनगरको पुष्पलाल चोक र जतुवामा राखिएका दमकल कतै पनि आगो निभाउन परिचालन गरिएन। महानगरका प्रहरी प्रमुख, कार्यकारी अधिकृतहरू, उपमेयर शिल्पा कार्की—कसैले पनि दमकललाई आगो निभाउन बोलाएनन्। बरु आफ्नै महानगर भवन जलेको टुलुटुलु हेरेर बसिरहे।
महानगरको फायर ब्रिगेडमा कार्यरत कर्मचारीहरूका अनुसार आगो निभाउन आदेश दिनुको साटो उनीहरूलाई ‘दमकल आन्दोलनकारीले आगो लगाउँछन्, लुकाएर राख’ भनिएको थियो। जबकि विराटनगरमा २४ गते सबैतिर आगो लगाइसकेपछि अबेर साँझ ४ बजेतिर मात्र महानगर भवनमा आगो लगाइएको थियो। आगो लगाएपछि आन्दोलनकारीहरू अन्तै आगो लगाउन हिँडेका थिए।
त्यो दिन विराटनगरको शनिहाटमा रहेको महानगर भवनभन्दा उत्तर आन्दोलनकारीहरू थिएनन्। तर पनि उत्तर पक्षमा रहेको पुष्पलाल चौकको दमकल आगो निभाउन नआउँदा विराटनगर महानगर दनदनी जलेर खरानी भयो। भवन मात्र होइन, फर्निचर र कागजपत्र सबै जलेर खरानी भए।
दमकल नआउँदा त्यसदिन विराटनगरमा कर कार्यालय, सिडिओ कार्यालय, सिँचाइ, सडक, जिल्ला तथा उच्च अदालत, सरकारी वकिलको कार्यालय, कोशी प्रदेश सभा भवन, मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्रीको निवासदेखि अन्य मन्त्रालयहरू, प्रहरी विट र प्रहरीका कार्यालयका दर्जनौँ गाडीहरू जलेर खरानी भए। शनिहाटमा रहेको भाटभटेनी सुपरमार्केट पनि जलेर पुरै खरानी भयो। काँग्रेस विरासतको इतिहास बोकेको अस्पतालचोकस्थित कोइराला निवास पनि जलेर खरानी भयो। तर तीनवटा दमकलसहित १४ जना कर्मचारी पालेर बसेको विराटनगर महानगरले आगो निभाउन कतै दमकल पठाएन। सबै खरानी भइसकेपछि सेनाको निर्देशनमा राति १ बजेमात्र बल्ल विराटनगरका दमकल आगो निभाउन निस्किएका थिए।
गज्जब चाहिँ के भने—जेनजी आन्दोलनभन्दा केही दिनअघि मात्र अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली संघको कार्यक्रममा सहभागी हुन गएका विराटनगर महानगरका मेयर नागेश कोइरालाले आन्दोलनमा आफ्नै कार्यकक्षसम्म नरहने गरी महानगर भवन जलेर खरानी भएको सूचना पाएर पनि फर्केनन्। उनले १५ दिनसम्म फर्किने टिकट नपाएको बहाना बनाएको बताइन्छ ।
यता उपमेयर शिल्पा कार्की भने आगलागीको भोलिपल्टदेखि नै जोडतोडले अनुगमन, निरीक्षण र सरसफाइमा खटिइन्। १५ दिनपछि मेयर नागेश फर्किएपछि केही दिनमै विराटनगर महानगरले सेवा दिन थाल्यो। उपमेयर शिल्पा कार्कीले टेन्टबाटै न्यायिक समितिको बैठक राखेकी थिइन् ।
विराटनगर महानगरपालिकाले अध्यक्ष गरेको प्रतिवेदन अनुसार २४ भदौमा भएको आगजनी र तोडफोडबाट भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँको क्षति भएको छ। भौतिक संरचनातर्फ महानगरपालिका मुख्य भवनसहित १ देखि १२ र १९ नम्बर वडा कार्यालयमा आगजनी र तोडफोड हुँदा २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ।
जिन्सी सामग्रीतर्फ स्काभेटर, शवबाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको हो।
वडागत रूपमा क्षतिको विवरण प्राविधिकहरूबाट संकलन गर्नुपरेकोले पूर्ण विवरण आउन दुई महिना लागेको प्रमुख कोइरालाले बताए।
यसैगरी जेनजी आगजनी–तोडफोडबाट विराटनगर महानगरको भौतिक संरचना, सवारी साधन र फर्निचरमा भएको क्षतिभन्दा पनि शाखा–महाशाखाका अभिलेखका कागजात सबै जलेर नष्ट भएका छन्। घरजग्गा शाखा पूर्ण रूपमा जल्दा त्यहाँका सबै कागजात नष्ट भएका छन्। अन्य महाशाखा र शाखाका कागजात पनि सबै जलेका छन्।
टिप्पणीहरू