शेख हसिनाविरूद्ध फाँसीको सजाय

शेख हसिनाविरूद्ध फाँसीको सजाय

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गरिएको छ । राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई उक्त अपराधमा फाँसीको सजाय सुनाएको छ । 

हसिनालाई तीनवटा प्रमुख मानवताविरुद्धका अपराधमा दोषी ठहर गरिएको बताइएको छ । मुख्य आरोपमा हत्या, हत्या प्रयास, विद्यार्थी आन्दोलन दबाउने क्रममा घातक कारबाही, प्रदर्शनकारीमाथि गोली हानी हत्या र शव जलाउने घटनाहरू समावेश छन् ।

उनको सरकारमा रहेका तत्कालीन गृहमन्त्री आसदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको आदेश दिइएको छ। अदालतले अगष्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा भएका हत्याका मुख्य योजनाकारका रूपमा उनीहरूलाई दोषी ठहराएको हो।

हसिना विगत १५ महिनादेखि भारतमा निर्वासित जीवन बिताउँदै आएकी छन्। अदालतको फैसलापछि ढाकामा हिंसा भड्किएको छ। हिंसात्मक गतिविधि रोक्न गोली चलाउने आदेश दिइएको छ। 

आन्दोलन दबाउनेमा दोषी ठहरिएका सबैकोे सम्पत्ति जफत गरी पीडित परिवारमा वितरण गरिने बताइएको छ।

ट्रिब्युनलले शेख हसिनाविरूद्ध  लागेका अन्य तीन मुद्दामाथि पनि अनुसन्धान थालेको छ । सन् २०१३ मा मोतीझीलको शापला चत्तरमा भएको सामूहिक हत्याको घटना र दुई जबरजस्ती बेपत्ता घटनाहरू समावेश छन्।

अदालतमा भएको बहस र फैसला बंगलादेशका टेलिभिजन तथा निजी च्यानलहरूले प्रत्यक्ष प्रसारण गरेका थिए ।

टिप्पणीहरू