एमालेको निचोड : संसद पुनःस्थापना

एमालेको निचोड : संसद पुनःस्थापना

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनालाई कुनै पनि हालतमा क्रान्ति भन्न नमिल्ने टिप्पणी गर्नुभएको छ । वर्तमान सरकार प्रतिक्रान्तिबाट बनेको उहाँको विश्लेषण छ ।

विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठकमा बोल्दै ओलीले सुशीला कार्की नेतृत्वको सरकार विध्वंशबाट बनेको र यसलाई विद्रोह भन्न नमिल्ने स्पष्ट पार्नुभयो । 

‘यो जननिर्वाचित सरकार होइन, आगजनी, तोडफोड र लुटपाटबाट बनेको सरकारलाई क्रान्ति भन्न मिल्दैन’, उहाँले भन्नुभयो, ‘यो सरकार कसले बनायो, कसरी बनायो विस्तारै देखिदैँछ, यसको न टेक्ने आधार छ, न झुण्ड्याउने आलम्ब छ ।’

हामी नेपाल (एनजिओ)का संस्थापक सुदन गुरुङलाई लक्षित गर्दै अध्यक्ष ओलीले कतिपय व्यक्तिको नाम नै लिन लाज लाग्ने पनि बताउनुभयो । ‘भनेको सुनिन्छ, यो सरकार फलानोले चलाएको छ, नाम उच्चारण गर्न पनि लाज हुने’,अघि भन्नुभयो, ‘यो संविधान फाल्ने कि राख्ने भनेर दोधारमै छ विचरा, थाहा छैन उसको नागरिकता छानविन गर्ने हो भने के हुन्छ  !’ 

ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नरहेको अडान पनि दाेहाेर्याउनुभएकाे छ । फागुन २१ मा हुने भनिएको चुनाव कुनै पनि हालतमा सम्भव नदेखिएको तर्क गर्दै, ‘अब दुई प्रकारले अघि बढ्नुपर्छ, एउटा कानुनी लडाइँ लड्छौँ, दोस्रो सडकमा उत्रिन्छौँ, एमालेले गर्ने संर्घष आगजनी र तोडफोडको लागि होइन, संवैधानिक, शान्तिपूर्ण र जनताको जिउधनको रक्षाको लागि हुनेछ ।’

टिप्पणीहरू