पूर्वका सभामुखकाे गाडी बल्ल फिर्ता
जेन जी आन्दोलनमा प्रदेशसभा र त्यहाँ रहेका सबै सवारी साधन जलेर खरानी बनाइएको प्रतिकूल समयमा पनि सरकारी गाडी घरमा लगेका कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उक्त गाडी फिर्ता गरेका छन्।
कर्मचारी सुरक्षाको लागि कुकुर बोक्ने गाडीमा कार्यालय जान बाध्य पारिएका बेलामा सभामुखको घरमा सरकारी गाडी भन्ने समाचार सार्वजनिक भएपछि गाडी फिर्ता भएको हो । उनले निजी नम्बर प्लेट बनाएर झापा, गौरादहस्थित घरमा महिनौँदेखि प्रयोग गर्दै आएको प्रदेश १–०४–००१ च ००४७ नम्बरको कार फिर्ता भएको छ ।
प्रदेश सभा सचिवालयका कर्मचारीहरु गाडी सबै खरानी भएपछि जोगिएको जासुसी कुकुर बोक्ने गाडी विशेष अवस्थामा मात्र कार्यालयका लागि प्रयोग गर्न बाध्य थिए । धेरै जना आफैँ भाडा तिरेर कार्यालय आउजाउ गर्दै आएको बताउँछन् ।
जेन जी प्रदर्शन सुरु भएसँगै भदौ २३ गते राप्रपाले प्रदेश र संघका सबै सांसदले राजीनामा दिने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन भएको भए राप्रपाबाट कोशीका सभामुख चयन भएका विष्ट पनि त्यतिखेरै पदमुक्त भइसक्थे ।
‘भ्रष्टाचार गर्नु आफ्नै आमाको रगत खानु बराबर हो’ भन्ने मान्यता राख्ने पार्टीका कार्यकर्ता सभामुख विष्टले भने मौका पाउनासाथ सरकारी गाडीलाई निजी बनाएर घरमै लगेर प्रयोग गरेर सिद्ध गरिदिएका छन् । कोशी प्रदेश सभा सदस्य तथा पदाधिकारीको सेवा सुविधा ऐन, २०७५ अनुसार सभामुखले एउटा सवारी साधन मात्र पाउने व्यवस्था छ। तर सभामुख विष्टले भने एउटै गाडीलाई निजी जस्तै बनाएको आरोप लाग्दै आएको थियो ।
यसअघि तत्कालीन माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमलाई हस्ताक्षर दुरुपयोग मुद्दामा अदालतले पदमुक्त गरेपछि संघीयता नै खारेज गर्ने मुख्य मुद्दा बनाएको राप्रपाबाट सांसद विष्ट सभामुख चयन भएका थिए। स्रोतका अनुसार सभामुख र उपसभामुख सृजना दनुवारबीच राम्रो समन्वय छैन।
सचिवालय अपारदर्शी हुँदा कोशी प्रदेश सभाको पहिलो कार्यकालका सभामुख प्रदीपकुमार भण्डारीले पनि सरकारी गाडीलाई ६–६ महिनाको अनुमति लिएर निजीकरण गर्दै धरानस्थित घरमा ढुक्कै कार्यकालभरि प्रयोग गरेका थिए।
टिप्पणीहरू