काठमाडौंबाट सिमरा उड्न लागेको जहाज रोकियो

काठमाडौंबाट सिमरा उड्न लागेको जहाज रोकियो

काठमाडौंबाट बाराको सिमरा उड्न लागेको जहाज रोकिएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत सवाररत बुध्द एअरको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरुले सिमरा विमानस्थलमा प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिएको हो । 

पत्रकार राजन कुइँकेलले उडान रोकिएपछि यात्रुहरु जहाजबाट ओर्लिनुपरेको बताएका छन् । ‘यसरी ओर्लनुपर्यो । जानुपर्ने काठमाडौंबाट सिमरा । सिमरा विमानस्थलमा प्रदर्शनकारीले प्रदर्शन गरेपछि उडान नै रोकियो र यसरी विमानबाट ओर्लियौं’,उनले फेसबुकमा लेखेका छन्,‘विमानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायत नेता रहेको भन्दै प्रदर्शन गरिएकोले सुरक्षाका कारण विमान उड्न सकेन ।’

यता, त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले आफूले सोबारे बुझ्ने बताए । ‘मिटिङ्गमा भएकाले त्यहाँको घटनाबारे मलाई थाहा भएन । म बुझ्छु’,उनले भने । 

पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पोखरेल र बस्नेत आउने भएपछि जेनजी युवाहरुले विमानस्थल घेराउ गरेका छन् । हाल विमानस्थल वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
 

टिप्पणीहरू