एमाले कार्यकर्ताले जेनजी कुटेको भन्दै काठमाडौँमा विरोध
बारामा आज भएको घटनाको विरोधमा जेनजीहरूले काठमाडौँमा प्रदर्शन गर्न लागेका छन् ।
एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्यय लगायतलाई कुटपिट गरेको भन्दै राष्ट्रिय जेनजी नेपालले अपराह्न ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । राष्ट्रिय जेनजीले शान्तिपूर्ण कार्यक्रमका लागि उपस्थित हुन आह्वान गरेको छ ।
पार्टीसम्वद्ध युवासंघले बाराको परवानीपुरमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल, पोलिटव्युरो सदस्य महेश बस्नेतसहितको टोली आज बिहान त्यता जान लागेको थियो । तर, जेनजीविरुद्ध जथाभावी बोलेको भन्दै बस्नेतलाई सिमरा आउन रोक लगाउने भन्दै जेनजीहरूले शान्तिपूर्ण विरोधको कार्यक्रम राखेका थिए ।
त्यसका लागि युवाहरूको टोली सिमारा विमानस्थल घेराउ गर्न पुगेका बेला एमाले कार्यकर्तासँग झडप भयो । झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ भने विमानस्थल बन्द हुँदा शंकर पिख्रेल र महेश बस्नेत यतै रोकिएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ । तर, सिमराको मुख्य बजार क्षेत्रमै ठूलो संख्यामा उपस्थित युवाहरूले नारावाजीसहित प्रदर्शन गरिरहेका छन् ।
टिप्पणीहरू