प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता
सर्वाेच्च अदालतले राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेको भन्दै पेश भएका अवहेलनाका मुद्दा दुई सातापछि दर्ता गरिरहेको छ । कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भए पनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ गते मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाई फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए ।
कात्तिक १८ गते पेश भएको अवेहलना मुद्दा आज दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कात्तिक १८ गतेको आदेश उल्लंघन भएको विषयमा प्रधानमन्त्री सुशीला कार्कीकै प्रत्यक्ष संलग्नता देखिएको भन्दै आदेश उल्लंघनउपर हदैसम्म सजायको माग गरेका छन् ।
न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले १६ गते राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने भोलिपल्टै परराष्ट्र मन्त्रालयको चलानी नम्बर ३४२५ मिति २०८२।०७।१७ को पत्राचारमार्फत् एघार मुलुकका राजदूतलाई मन्त्रालयमा हाजिर हुनेगरी २० गतेभित्र फिर्ता आइसक्न अर्काे पत्र पठाइएको थियो ।
आफ्नै आदेश पालना गराउन माग गर्दै पेश भएको निवेदन समेत सर्वाेच्चले समयमै दर्ता नगर्दा आदेशको पालनामा सरकारी निकायहरु उदासिन भएकोप्रति न्यायिक क्षेत्र क्षुब्ध बनेको छ । असोज ३० गतेको निर्णयलाई चुनौति दिँदै सर्वाेच्चमा रिट परेपछि सरकारले खाली स्थानमा नयां नियुक्ति नगर्ने नीति लिएको छ भने आदेश विपरित ११ देशबाट राजदूतहरु फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर गराइरहेको छ ।
चुनावमा ध्यान केन्द्रित गर्नुपर्ने सरकार राजदूत फिर्ता र नयाँ नियुक्तिमा अल्मलिनुले निर्वाचनमा प्रयाप्त ध्यान दिन नसकेको भन्दै आलोचना हुनेगरेको छ ।
टिप्पणीहरू