हेटौंडामा सडक छेउछाउका संरचना हटाइने

हेटौंडामा सडक छेउछाउका संरचना हटाइने

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत सडकको सीमा मिचेर बनाइएका अवैध संरचना हटाउन सडक डिभिजनले ताकेता गरेको छ । 

डिभिजनले हेटौंडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म बनेका अनधिकृत संरचना हटाउन १५ दिने सूचना जारी गरेको हो । तोकिएको समयभित्र संरचना नहटाएमा आफैंले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गर्ने चेतावनी दिइएको छ ।

‘तोकिएको समय सीमाभित्र अतिक्रमित संरचनाहरु हटाएको नपाइएमा सडक डिभिजनद्धारा हटाइने र सोबापत लाग्ने खर्च सार्वजनिक सडक ऐन, २०३१ एवं अन्य प्रचलित कानुनबमोजिम सम्बन्धितहरुबाट असुलउपर गरिने व्यहोरासमेत जानकारी गराइन्छ’,सूचनामा उल्लेख छ । 

‘सार्वजनिक सडक ऐन, २०३१’ ले सडक सीमाको २५ मीटरभित्र सडक विभागको स्वीकृति प्राप्त नगरी प्रवेश मार्ग बनाउन, कुलो वा खाडल खन्न वा भत्काउन, किला, लठ्ठा, तगारो गाड्न वा हाल्न र घर, टहरा वा छाप्रो बनाउन निषेध गरेको छ । सो ऐनविपरीत महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमामा संरचनाहरु निर्माण गरिएको छ । 

सडक डिभिजनले यसअघि ती संरचना हटाउन सूचना जारी गरेको थियो । तर, संरचना धनीहरुले क्षतिपूर्ति माग्दै २०७८ पुस १९ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरे । 

अदालतले क्षतिपूर्ति नपाउने फैसलाका साथै डिभिजनविरुद्ध परेको रिटहरु खारेज गरेपछि अनधिकृत संरचना हटाउने प्रक्रिया पुन: अघि बढेको हो ।
 

टिप्पणीहरू