पूर्वतिरका एमाले नेताहरु भटाभट कारबाहीमा
नेकपा एमालेका नेता तथा सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरी कारबाहीमा परेका छन् । अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निरन्तर ‘विषवमन’ गरेको आरोपमा उनलाई ६ महिनाका लागि पार्टीबाट निष्कासन गरिएको छ । ।
गत भदौ १ गते विराटनगरमा बसेको पार्टी कोशी प्रदेश कमिटी बैठकले उनलाई कारबाहीको निर्णय गरेको थियो । सोहीअनुरूप चौधरीलाई ६ महिनाका लागि पार्टीबाट निष्कासन र सदस्यता निलम्बन गरिएको जनाइएको छ ।
चौधरीले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत् पार्टी नेतृत्वको चर्को विरोध गर्दै आएका थिए । पटक–पटक सचेत गराउँदा पनि नसुध्रिएपछि उनलाई कारबाही गर्न बाध्य भएको कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए ।
‘धेरैपटक सचेत गरायौँ, चेतावनी पनि दियौँ । उहाँले आफूलाई नसुधारेपछि कारबाही गरेका हौँ,’ उनले भने ।
त्यसैगरी, कमिटीले झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीलाई पार्टीको सल्लाहकार पदबाट हटाएको छ । उनीमाथि आफ्नी धर्मपुत्रीलाई बलात्कार गरेको आरोप लागेको थियो।
जिल्ला अदालत, झापाले पुर्पक्षका लागि कारागार चलान गरेकोमा उनी बिरामी भएको बताउँदै अस्पतालमै बसेको अवस्थामा पछि उच्च अदालतले सिवाकोटीलाई धरौटीमा छाडेको हो ।
पार्टीको प्रदेश सल्लाहकार मनोरथ तिवारी पनि पदमुक्त भएका छन् । उनले जेनजी आन्दोलनको क्रममा पार्टीको विरोध गरेका थिए । सुनसरीका साहित्यकार डा. बद्री विशाल पोखरेल र काशीनाथ दंगाललाई पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।

टिप्पणीहरू