देउवाको सक्रियता र उताको दाउ
सिंगापुरमा स्वास्थ्य लाभ गरेर फर्केपछि कांग्रेस सभापति शेरबहादुर देउवा फेरि सक्रिय बनेका छन् । लगभग राजनीतिबाटै बिदा भएझैँ अभिव्यक्ति दिएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सुम्पिएका उनी किन फेरि सक्रिय बने होलान् ? आममानिसले यसको जवाफमा भन्ने गर्छन्– महाधिवेशनको मितिबारे बढ्दो किचलोलाई निप्ट्याउन सक्रिय बनेका हुन् । तर, समाचार स्रोत भन्छ– खासमा कुरा अर्कै छ । स्रोतको दावीअनुसार सिङ्गापुरमा रहँदा देउवालाई भारत र चीन दुवै मुलुकका प्रतिनिधिहरूले भेटघाट गरेर आ–आफ्नो सन्देश दिएका छन् । भारतले उनलाई पार्टी सभापतिका रूपमा कुनै हालतमा गगन थापालाई स्विकार्न नसकिने स्पष्ट संकेत दिएको छ ।
त्यसैगरी, आगामी सभापतिका रूपमा शेखर कोइरालालाई हेर्न चाहेकोसमेत भारतीय दूतले प्रष्ट शब्दमा राखेका छन् । गगन थापा अमेरिकासँग बढी नै नजिक रहेको भारतीय गुनासो छ । तथापि, आगामी महाधिवेशनमा देउवा समर्थित कुनै पात्र र उनीइतर गगन थापा या शेखर कोइराला गरी जम्मा तीन जना प्रतिस्पर्धामा उत्रने पक्का रहेको बताइन्छ । विधानअनुसार सभापति बन्न कम्तीमा ५१ प्रतिशत मत हासिल गर्नै पर्ने हुँदा दोस्रो चरणमा देउवाले जसलाई समर्थन गर्छन् ऊ नै सभापति बन्ने देखिन्छ ।
त्यसो त, जेनजी आक्रमणको शिकार बनेका बेला महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सामान्य सहानुभूतिसमेत प्रकट नगरेकोमा समेत देउवा दम्पतीको चित्त दुखेको छ । बरु त्यो बेला आक्रमणकारीलाई थप मनोबल बढ्ने गरी उनीहरूको आन्दोलन जायज थियो भन्ने पपुलिस्ट कुरा गर्दै हिँडेका हुँदा देउवाको समर्थन गगन वा विश्वप्रकाशलाई नमिल्ने लगभग पक्का रहेको एकथरीको भनाइ छ ।
गगन थापाको सक्रियतामा हालै सम्पन्न युवा भेलामा सुमना श्रेष्ठ, सन्तोष परियार, मनीष झा र जेनजीहरूलाई समेत समाहित गरेर युवाहरूको छुट्टै फोरम बनाउनेबारे कुरा उठेको थियो । स्रोतका अनुसार सो छलफलमा विगतमा देउवाले पार्टी फुटाउँदो के हालत भएको थियो, त्यस्तै हुने हो कि भन्ने बारेमा समेत चर्चा चल्यो । तर, त्यसबेलाको परिवेश र अहिलेको राजनीति बिल्कुलै फरक धरातलमा रहेको हुँदा त्यसलाई दृष्टान्त बनाएर निर्णय गर्नु उपयुक्त हुँदैन भन्ने निश्कर्षमा उनीहरू पुगे । गगन थापाले आफूलाई भारतले कुनै हालतमा स्विकार्दैन भन्ने बुझेपछि भने नयाँ पार्टी गठन गर्ने योजनासमेत स्थगित भएको बताइन्छ ।
कांग्रेसभित्रको राजनीतिमा त्यति धेरै चासो नलिए पनि चीनकै सल्लाहमा हालको सरकारले एमाले अध्यक्ष केपी ओली र रमेश लेखकलाई पक्राउ नगरेको पनि समाचार स्रोतको दावी छ । अहिलेको अवस्थामा ती दुईलाई प्रहरी नियन्त्रणमा राख्दा चुनावी वातावरण बिथोलिने भएकाले हाललाई प्रतिशोधको राजनीतिमा नलाग्न प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव आएको हो । चिनियाँ र भारतीय दुवै पक्षले जतिसक्दो चाँडो वैधानिक सरकार गठन गर्नु नै दीर्घकालीन हितमा हुने हुँदा निर्धारित मितिभित्रै चुनाव गराउने कुरामै केन्द्रित रहेर अघि बढ्नुपर्नेमा जोड दिएको बताइन्छ ।
(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू