चुनावअघि महाधिवेशन नभए महामन्त्रीहरू उम्मेदवार नहुने
नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औं महाधिवेशन नभए चुनाव नलड्ने चेतावनी दिएका छन् । आज सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले फागुनअघि महाधिवेशन गर्नुपर्ने पुरानै अडान दोहोर्याएको बताइएको छ ।
विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने आवाज उठाउँदै आएका थापा र शर्मासहित दुई दर्जन केन्द्रीय सदस्य देउवालाई भेट्न महाराजगञ्जस्थित एक होटलमा पुगेका थिए । भेटका क्रममा चुनावअघि महाधिवेशन नभए आफूहरु उम्मेद्वार नबन्ने जानकारी उनीहरूले गराएको बुझिएको छ ।
जेनजी आन्दोलनपछि काँग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्नेमा विवाद रहँदै आएको छ । चुनावअघि विशेष महाधिवेशनको माग गर्दै थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर असोज अन्तिम साता केन्द्रीय समितिको बैठकमा पेश गरेका थिए ।
तर, सभापति देउवासहित संस्थापनका अधिकांश नेता वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएपछि जारी केन्द्रीय समिति बैठकमा दुईथरी मिति प्रस्ताव गरिएको छ । सहमति जुट्न नसक्दा पटक-पटक बैठक स्थगित हुँदै आएको छ ।
आज सभापतिलाई दबाब दिन पुगेका महामन्त्रीद्वयले भनेका थिए, ‘फागुनअघि महाधिवेशन नगरेर पछाडि सार्ने हो भने हामी चुनावमा उठ्दैनौँ ।’
देउवाले अन्य पदाधिकारीसँग छलफल गरेर महाधिवेशनको मिति टुंगो लगाउन सुझाव दिएकाे बताइन्छ । त्यसबारे आफूले समेत सल्लाह गर्ने उनको भनाइ थियो ।
टिप्पणीहरू