मन्त्री नभएका मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको कडा निर्देशन

मन्त्री नभएका मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको कडा निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरूलाई प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित रहेर काम गर्न निर्देशन दिनुभएको छ । 

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर उहाँले सचिवहरूलाई एकमुष्ट निर्देशन दिनुभएको हो । त्यसक्रममा उहाँले मन्त्री नभएकै कारण काम प्रभावित हुन नहुनेमा जोड दिनुभएको बताइएको छ । 

प्रधानमन्त्री कार्यालयसहित सातवटा मन्त्रालय अहिले प्रधानमन्त्रीकै जिम्मामा छ । केही मन्त्रीले तीन वटासम्म मन्त्रालय सम्हालिरहेका छन् । मन्त्रालयमा मन्त्री नहुँदा काम प्रभावित भएको गुनासो आएपछि प्रम कार्कीले सचिवहरूलाई बोलाएर विशेष निर्देशन दिनुभएको हो । 

मन्त्री नभए पनि सचिवहरूलाई सबै अधिकार प्रत्यायोजन गरेको स्मरण गराउँदै उहाँले अझै अपुग भए अधिकार थप्न तयार रहेको तर परिणाममुखी काम चाहिने स्पष्ट पार्नुभयो । आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्न उहाँले कडा निर्देशन दिनुभयो ।  

‘हामी अस्थायी हौँ । म क्षणिक हो । ब्युरोक्रेसी स्थायी सरकार हो । तपाईँहरु यही क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ । अनुभव, दक्षता र विशेषज्ञता पनि तपाईँहरुसँग हुन्छ । मेरो दाहिने–देब्रे जे भने पनि तपाईँहरु हो’, प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले निर्देशन दिन सक्छु, सही गरेर दिन सक्छु तर त्यसको कार्यान्वयन तपाईँहरुले नै गर्ने हो । बोलेर मात्र हुँदैन । काम त तपाईँहरुले नै गर्ने हो । त्यसैले नतिजामुखी भएर काम गर्नुहोस् । काममा कुनै प्रकारको बहानाबाजी नहोस् ।’

मन्त्रीको भौतिक उपस्थिति नहुँदा रोकिएका काम केही भए तुरुन्त अगाडि बढाउन उहाँले सचिवहरूलाई आग्रह पनि गर्नुभयो । जेन–जी आन्दोलनको भावनाअनुसार छिटोछरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्न प्रधानमन्त्रीको अनुरोध थियो ।

टिप्पणीहरू