हिजोको योगदान सह्रानीय, भोलि के होला ?
युवापुस्ता भन्ने बितिक्कै उनीहरु आफ्नो जीवनको ऊर्जाशील उमेरमा हुन्छन् । यो अवधिमा उनीहरू नयाँ कुरा जान्न अति जिज्ञासु, सिक्नमा खप्पिस, मन परेको कुरा गर्न हुरुक्क, अत्यन्त शक्तिशाली र ऊर्जाशील अनि नयाँ–नयाँ कुरा अन्वेषण गर्न सक्षम हुन्छन् ।
हरेक समाज र देशको प्रगति युवा समूहको राम्रो परिचालनमा निर्भर हुने गर्छ । यो उमेर समूहका युवा अत्यन्त जुझारु, संघर्षशील, साहसी र बहादुर हुन्छन् । सही शिक्षा, राम्रो पारिवारिक र सामाजिक वातावरण पाएमा उनीहरुले समाज र देशमा अतुलनीय योगदान पुर्याउन सक्नेमा दुईमत देखिँदैन ।
हाम्रै देशको एकीकरण अभियानमा, आजको नेपाल निर्माणमा युवाहरूले महत्वपूर्ण योगदान पुर्याएका थिए। त्यसरी नै नेपालको स्वाधीनताको राष्ट्रिय युद्धमा, देशभक्तिपूर्ण युद्धमा अमरसिंह, बलभद्र, भक्ति थापाको नेतृत्वमा भएको अंग्रेज साम्राज्यवादविरुद्धको युद्धमा नेपाली युवा–युवती तथा वीर–वीरङ्गनाहरूले साहसिक युद्ध लडेका थिए। नालापानीलगायत युद्धमा महान् बलिदान गरेकाले अन्ततः देशको स्वतन्त्रता तथा स्वाधीनता कायम राख्दै नेपाल सदैव स्वतन्त्र राष्ट्रको रुपमा कायम रह्यो ।
एकतन्त्रीय जहानियाँ शासनविरोधी संघर्षमा सहादत प्राप्त गर्ने सहिद गंगालाल लगायतका अगुवा पनि युवा नै थिए। त्यसरी नै नेपालमा जनवाद, जनमुक्तिको निम्ति गठित राजनीतिक दल—नेपाल कम्युनिष्ट पार्टी—का संस्थापक पुष्पलाल, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतिदेवी पनि युवा नै थिए। नेपाली कांग्रेसका संस्थापक बी.पी., गणेशमान, सुवर्ण र डिल्लीरमण त्यो बेलामा लक्काजवान थिए । २००७ सालको क्रान्तिमा देशभित्र मुक्ति–युद्धमा होमिने अधिकांश युवाहरू हुन्
त्यसरी नै २०२८ सालमा कम्युनिष्ट पार्टीको क्रान्तिकारी धारलाई अघि बढाउन झापामा किसान विद्रोहको नेतृत्व गर्ने १८–२० वर्षका युवाहरू नै थिए। नेपाली राजनीतिमा सशक्त भूमिका खेल्ने २०३५ सालमा नेकपा (माले) स्थापना गरेका तथा नेतृत्व गरेका नेताहरू युवा नै थिए। २०३५÷३६ को विद्यार्थी आन्दोलनका नेता–कार्यकर्ता सबै युवा नै थिए। त्यसपछि दलविहीन निरङ्कुश कालरात्री चिर्न, नेपाललाई जागृत र संगठित गर्न विद्यालयका १३–१४ वर्षदेखि सुरु हुने आन्दोलनका युवा अग्रपंक्तिमा थिए। धेरै युवाहरूले जीवनको जोखिम मोलेर सहादत प्राप्त गरे । त्यस्तो अन्धकार चिर्ने सबै युवा नै थिए।
२०४६ सालको जनआन्दोलनको नेतृत्व र अग्रपंक्तिमा युवाहरू नै थिए। त्यसरी नै २०६२÷६३ को जनआन्दोलनमा पनि युवाहरूले संघर्षको हुंकार गरी आन्दोलन सफल बनाए। तर युवाहरूको यस किसिमको योगदानका बाबजुद २०४६ पछि जनवादको वातावरणमा बनेका सरकारहरूले सुशासन दिन सकेनन्। भ्रष्टाचार र बेथिति बढ्दै गयो र असन्तोष चुलिँदै गयो।
समस्याको जड–परिवर्तनमा सबैभन्दा बढी योगदान गर्ने नवयुवा, तर परिवर्तनका एजेन्डा सुशासन र समुन्नति—हासिल गर्न निर्णायक सरकारमा त्यो समूहको सहभागिता नहुने । यही बिडम्बनाले निरन्तरता पायो। मिडिया र सडकबाट अनेकौँ तथ्य–प्रमाणसहितका आवाज सुनेन, सम्बोधन भएन। अन्ततः असन्तोषको ज्वाला दन्केर २०८२ भदौ २३ मा ‘जेनजी प्रदर्शन’को रूप लियो।
तत्कालीन सरकार पलायनका लागि बाध्य भयो। आन्दोलनकारीको सिफारिसमा नयाँ सरकार बन्यो, जसले सुशासन कायम गर्दै २०८२ साल फागुन २१ मा आमनिर्वाचन गरी सत्ता हस्तान्तरण गर्ने म्यान्डेट पाएको छ। खासगरी २०६२÷६३ पछि नवयुवा राजनीतिप्रति उदासीन भइसकेका छन् कि भन्ने प्रश्न उठ्न थालेको थियो। तर जेनजी प्रदर्शनमा युवाको सहभागिता, आफ्ना एजेन्डाप्रतिको सजगता र खबरदारीले त्यो भ्रम पूर्ण रूपमा खण्डन गरिदिएको छ।
अहिलेका सबै पुराना राजनीतिक दलका अधिकांश नेताहरूले आफ्नो राजनीतिक जीवन १५–१६ वर्षको उमेरमै सुरु गरेका थिए । त्यसबेला उनीहरूमा इमान्दारिता, त्याग र बलिदानको भावना उच्च थियो। तर उमेरसँगै त्यो व्यवहार र आचरण कमजोर बन्दै गयो, लोभी–पापी बन्दै भ्रष्टाचार र बेथितिमा संलग्न भए। राजनीति स्वच्छ, निष्पक्ष र निस्वार्थ सेवा होला भन्ने आममान्यता स्थापित गर्न सकेनन्।
पार्टीहरूले पनि नेपालको एकीकरणदेखि आजसम्मको परिवर्तनमा युवाको योगदान, उनीहरूभित्रको अपार ऊर्जा र क्षमतालाई राष्ट्र–निर्माणमा लगानी गर्न सके नेपाल र नेपालीले छिटो समुन्नति हासिल गर्नेमा द्विविधा छैन ।
टिप्पणीहरू