घर मालिकलाई नै सिध्याइदिने धम्कीपछि थप भिडन्तको आशंका

घर मालिकलाई नै सिध्याइदिने धम्कीपछि थप भिडन्तको आशंका

हामी नेपाल एनजिओका संस्थापक सुदन गुरुङले एमाले नेता किसान श्रेष्ठलाई सिध्याइदिने धम्की दिएपछि जेनजी र एमाले कार्यकर्ताबीच थप टकरावको स्थिति देखा परेको छ । सिमरा घटनालाई साम्य पार्न वार्ताका लागि काठमाडौँबाट बारा पुगेका उनले श्रेष्ठको घरमा पुगेर कामदारलाई धम्कीपूर्ण चेतावनी दिएपछि दुई पक्षबीच थप भिडन्तको खतरा बढेको बताइन्छ ।  

गत बुधबार एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितका नेता बारा जान लागेको खबर सार्वजनिक भएपछि जेनजी युवा भनिएको समूहले सिमरा विमानस्थलबाहिर नाराबाजी गरेका थिए । त्यसक्रममा एमालेका स्थानीय कार्यकर्ता र जेनजी युवाबीच झडप हुँदा भोलिपल्ट दिनभर अवस्था तनावग्रस्त बन्यो । त्यसपछि विवाद समाधान गर्न स्थानीय प्रशासनले जेनजीलाई वार्तामा बोलाइएकोमा गुरुङ काठमाडौँबाट त्यहाँ पुगेका थिए । 

सिडिओ कार्यालयमा तीन बुँदे सहमतिपश्चात् उनी हालै एकीकृत समाजवादी छोडेर एमाले प्रवेश गरेका पूर्वमन्त्री श्रेष्ठको घरमा पुगे । त्यतिबेला श्रेष्ठ काठमाडौँमा रहेकाले भेट नभएपछि गुरुङले कामदारलाई थर्काएको बताइएको छ । 

भदौ २४ गते आगजनी भएको घर अवलोकनपछि गुरुङले त्यहाँ पुनःनिर्माणमा खटिएका कामदारलाई बोलाएर ‘अस्ति घरमा मात्रै आगो लाग्यो, हाम्रा भाइहरूलाई दुःख दिने हो भने मान्छेलाई पनि आगो लाग्नसक्छ’ भन्दै श्रेष्ठलाई सन्देश पठाएको बुझिएको छ । 

पूर्वजानकारीबिना अरुको घरमा गएर धम्कीपूर्ण निर्देशन दिनु प्रथम दृष्टिकोणमै गलत रहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । गुरुङको यो कदमले एमाले र जेनजीबीचको टकरावलाई थप बढाउने खतरा उनले देखेका छन् । 

‘सिमराको घटनामा कुरा मिलिसकेको थियो, वातावरण पनि सहज र शान्तिपूर्ण भइसकेको छ’, मिश्रले जनआस्थासँग भने, ‘तर उहाँहरूले वार्तापछि पूर्वमन्त्रीज्यूको घरमा गएर त्यहाँ काम गर्ने मान्छेहरुमार्फत् धम्कीपूर्ण सन्देश दिनुभएछ, हामीलाई ढिलोमात्रै थाहा भयो ।’

गुरुङको धम्कीपूर्ण सन्देशले एमाले कार्यकर्ता चिढिन सक्ने र जुनसुकै बेला अप्रिय घटना घट्नसक्ने विश्लेषण प्रशासनको छ । ‘हाम्रो मुख्य कर्तव्य त समाजमा शान्ति कायम राख्नु नै हो, तर जुनसुकै बेला उनीहरूबीच फेरि झडप हुनसक्ने सम्भावना जीवितै छ, हामीले सुरक्षा सतर्कता बढाएका छौँ’, मिश्रले थपे ।

टिप्पणीहरू