महेश उपस्थित कार्यक्रमबाहिर शोभाको नाममा नाराबाजी
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा बसेकी शोभा पाठकलाई न्याय दिन माग गर्दै सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ । महेश उपस्थित कार्यक्रमबाहिर जेनजी युवाहरुले नाराबाजी थालेका हुन् । राष्ट्रिय युवा संघको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत आज वीरेन्द्रनगर पुगेका छन् ।
जिल्ला समन्वय समितिको हलमा कार्यक्रम भइरहेकोमा बाहिर पाठकको न्यायका लागि युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘शोभा पाठकलाई न्याय दे’,‘एमाले–बा–भोगटे, भोगटेले गुण्डा जति गुण्डुमा ओगटे’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन् । शोभा र महेश राजधानीको एक अपार्टमेण्टमा सँगै बस्थें ।
सोही क्रममा शोभा गर्भवती भएपछि महेशले जबरजस्ती गर्भपतन गराएका थिए । त्यसपछि शोभाले महेशविरुद्ध जिल्ला प्रहरी परिसर,काठमाडौंमा ‘भ्रुण हत्या, जबरजस्ती करणी र डाँका चोरी’ प्रकरणमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले प्रमाण अपुग भएको जनाउँदै मुद्दा तामेलीमा राख्न जिल्ला सरकारी कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो । सोहीअनुरुप कार्यालयले मुद्दा तामेलीमा राखेको हो ।
आफू गर्भवती हुँदाको अल्ट्रासाउण्डको रिपोर्ट, पटकपटक गर्भ फालेको अस्पतालको रिपोर्ट हुँदाहुँदै पनि प्रमाण अपुग भएको भन्दै मुद्दा तामेली राखेपछि शोभाले जिल्ला सरकारी वकिल कार्यालयसहितलाई विपक्षी बनाएर २०८२ असार १५ गते उच्चमा रिट निवेदन दायर गरेकी छिन् । उनी न्यायका लागि लामो समयदेखि लड्दै आएकी छिन् ।
टिप्पणीहरू