उज्यालोसहित तीन पार्टीको एकता अन्तिम चरणमा

उज्यालोसहित तीन पार्टीको एकता अन्तिम चरणमा

वैकल्पिक शक्तिको रुपमा उदाएका तीन पार्टीबीच एकता हुने भएको छ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो पार्टी नेपाल र वर्तमान सरकारमा ऊर्जा र शहरी विकासमन्त्री रहेका कुलमान घिसिङको साथ रहेको भनिएको उज्यालो नेपाल पार्टीबीच एकता हुन लागेको हो । 

आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनीहरु मर्ज भई एउटै चुनाव चिन्हबाट लड्न लागेका हुन् । तीन पार्टीबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बुझिएको छ । नागरिक उन्मुक्ति पार्टीका एक नेताका अनुसार आज बिहान मन्त्री घिसिङको निवासमा सबै पक्ष बसेर एकताको कुरा टुंग्याइएको छ । 

आजै बेलुकासम्म तीन वटै पार्टीबीच एकता हुने र भोलि निर्वाचन आयोगमा दर्ता हुने ती नेताको दावी छ । ‘बिहान मन्त्रीज्यूको निवासमा सबै कुरा मिलेको छ । बेलुकासम्म एकता घोषणा गर्ने र भोलि निर्वाचन आयोगमा दर्ता गर्ने योजना छ,’ उनले भने  । 

उनका अनुसार पार्टीको नेतृत्वमा भने पछि कुलमान घिसिङ रहनेछन् । ‘चुनावअघि मन्त्रीज्यूले राजीनामा दिनुहुन्छ र उहाँकै नेतृत्वमा चुनावमा जाने सहमति भएको छ,’ ती नेताले भने ।

टिप्पणीहरू